सगरमाथा संवादबाट प्रधानमन्त्री ओलीको उद्घोष: ‘हिमाल जोगाउनु भनेको मानवता जोगाउनु हो’

२ जेष्ठ २०८२, शुक्रबार ११:२६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पृथ्वीको सर्वोच्च शिखर सगरमाथाको नामबाट सुरु गरिएको सगरमाथा संवादले केवल चर्चा वा विमर्शमा मात्र सीमित नभई साझा संकल्पको रूप लिनुपर्नेमा जोड दिएका छन्। सगरमाथा संवादको उद्घाटन सत्रमा मन्तव्य दिंदै उनले जलवायु परिवर्तनको संकट र त्यसको असरबाट सबैभन्दा बढी पीडित हुने मुलुकहरूमध्ये नेपाल पनि एक भएको उल्लेख गर्दै गम्भीर विश्वव्यापी सहकार्य आवश्यक रहेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले सगरमाथा संवादलाई नेपालले विश्वसँगको गहिरो विचार–विमर्श र सहकार्यका लागि सुरु गरेको पहलको रूपमा व्याख्या गरे। यो संवाद केवल प्लेफर्म मात्र नभई सिद्धान्तमा आधारित सहभागिता र साझा समस्या समाधानतर्फको प्रतिबद्धता भएको उनले स्पष्ट पारे। उनले भने, ‘आजको जमानामा ‘लोकल’ र ‘ग्लोबल’ छुट्याउने सीमाहरू हराउँदै गएका छन् र एक ठाउँको असर सम्पूर्ण संसारमा महसुस हुन्छ। एक ठाउँमा सल्किएको डढेलोले अर्को भूभागको आकाश अन्धकारमय बनाउँछ भने टाढाका हिमनदी पग्लिंदा वर्षाको चक्र प्रभावित हुन्छ, खेतबारी डुब्छन्, फाँटहरू बाँझो बन्छन्।’

उनले जलवायु परिवर्तनलाई मानव अस्तित्वका लागि सबभन्दा ठूलो चुनौतीको रूपमा चिनाउँदै यो संकट सबैको साझा विषय रहेको उल्लेख गरे। नेपालजस्तो विकासोन्मुख तथा हिमाली राष्ट्रले यो संकट सिर्जना नगरे पनि सबैभन्दा बढी असर यहीहरूले भोग्नुपरेको उनको भनाइ थियो। ओलीले भने, ‘हाम्रो उत्सर्जन नगण्य भए पनि योगदान अत्यन्त महत्वपूर्ण छ। हाम्रो जंगलले कार्बन सोस्छ, हिमालले पानी सञ्चय गर्छ, नदीनालाले प्यास मेटाउँछन्, संरक्षित क्षेत्रले जैविक विविधता जोगाउँछन्।’

प्रधानमन्त्री ओलीले नेपालले २०४५ सम्ममा खुद शून्य कार्बन उत्सर्जनको लक्ष्य लिएको जानकारी गराउँदै यो विश्वव्यापी लक्ष्यभन्दा पाँच वर्षअघि हो भन्ने स्मरण गराए। उनले भने, ‘हामी हाम्रो अर्थतन्त्रलाई हरिततर्फ मोड्दैछौं, दीगोपनलाई राष्ट्रिय दृष्टिकोणमा जोड्दैछौं, तर यो एक्लै सम्भव छैन। यसका लागि न्यायमा आधारित वैश्विक सहकार्य अपरिहार्य छ।’

विश्वको सर्वोच्च शिखरको काखबाट दिइएको सन्देश स्पष्ट छ हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर, र स्वयं मानवता जोगाउनु हो। ओलीले जलवायु न्यायको अवधारणालाई केन्द्रमा राख्दै भने, ‘जसले सबैभन्दा बढी प्रदूषण गर्छन्, उनीहरूले नै सबैभन्दा बढी जिम्मेवारी लिनुपर्छ।  वित्त, प्रविधि र क्षमतामा आधारित सहयोग संवेदनशील राष्ट्रहरूलाई प्रदान गरिनुपर्छ।’

उनले नेपालको प्राचीन परम्परा र बुद्धको शान्ति, करुणा र समन्वयको सन्देशको सन्दर्भ दिँदै नेपाललाई चिन्तक र संवादको थलोको रूपमा परिभाषित गरे। सगरमाथा संवाद पनि सोही परम्पराको आधुनिक पुनरागमन भएको भन्दै उनले सत्य संवादको शक्तिमाथि दृढ विश्वास व्यक्त गरे। ‘वादे वादे जायते तत्त्वबोधः – अर्थात् संवादबाटै सत्य निस्कन्छ’ प्रधानमन्त्रीले भने।

सगरमाथा संवादको पहिलो संस्करणको उद्घाटन मन्तव्यमा उनले जलवायु परिवर्तन, हिमालहरू र मानवताको भविष्यबारे गहिरो सरोकार प्रकट गर्दै यस संवादले केवल भनाइमै सिमित नभई व्यवहारमा उतार्न सकिने प्रतिवद्धता बन्नुपर्ने बताए।

उनले संसारलाई आग्रह गर्दै भने, ‘हिमाललाई नबिर्सौं, किनभने जब हिमाल पग्लिन्छन्, उपत्यकाहरू पीडित हुन्छन्, बालीहरू नष्ट हुन्छन्, सागर उर्लन्छन् र जीवन विखण्डित हुन्छ। सगरमाथाको काखबाट उठेको आवाज विश्वले सुन्न सकून्  यही उनको चाहना देखिन्थ्यो।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*