होन्डाका बीएस ६ बिक्री हुनै छोडेपछि व्यापारको नयाँ रणनीति, छुटदेखि एक्सचेन्जसम्म

काठमाडौं । नेपाली अटो बजारमा होन्डाका बीएस ६ मोटरसाइकल र स्कुटरहरूको माग कम हुँदै गएपछि कम्पनीले नयाँ रणनीति अघि सारेको छ । बिक्रीमा आएको गिरावटपछि होन्डाका आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले बीएस ६ मोडेललाई पुनः बजारमा सक्रिय बनाउने उद्देश्यले एक्सचेन्ज अफर घोषणा गरेको हो ।
कम्पनीले ल्याएको यो अफरअन्तर्गत कुनै पनि ब्रान्डका पुराना मोटरसाइकल वा स्कुटरसँग होन्डाका बीएस ६ मोडेल साट्न सकिनेछ । पुराना सवारी साधनको मूल्यांकनमा थप ६ हजार रुपैयाँ अतिरिक्त लाभ प्रदान गरिनेछ । यसका साथै, ग्राहकले ‘ह्वील अफ फ्युचर’ घुमाएर थप छुट तथा सुविधा जित्ने मौका पनि पाउनेछन् ।
‘ह्वील अफ फ्युचर’ अन्तर्गत ग्राहकले ६ मध्ये कुनै एक उपहार जित्न सक्नेछन् — ६ हजार रुपैयाँ नगद छुट, २३ हजार रुपैयाँ बराबरको ६ वर्षको वार्षिक मर्मत निःशुल्क, ६ वर्षको इन्जिन वारेन्टी, १ वर्षको फुल इन्स्योरेन्स, ६ वर्षसम्म स्पेयरपार्ट्समा १० प्रतिशत छुट, वा ६ पटकको सर्भिस तथा इन्जिन आयल सेवा ।
कम्पनीले नगदमा सवारी किन्न चाहने ग्राहकका लागि पनि सिधै ६ हजार रुपैयाँ छुटको व्यवस्था गरेको छ । जेठ २ गते (आज) बाट लागू भएको यो योजना जेठ ९ गतेसम्म सीमित रहनेछ ।
यसअघि, बीएस ६ मोडेलको मूल्य र प्रतिस्पर्धी कम्पनीका तुलनामा सीमित फिचरका कारण बिक्री घट्दै गएको व्यवसायीहरू बताउँछन् । यही पृष्ठभूमिमा कम्पनीले ग्राहकलाई आकर्षित गर्न छुट र एक्सचेन्जमार्फत पुनः बजार विस्तार गर्ने प्रयास थालेको देखिएको छ ।













