राष्ट्रिय युवा परिषद्को युवा उद्यमशीलता सम्मेलनमा सहभागी हुन आवेदन आह्वान

४ जेष्ठ २०८२, आईतवार १४:३८

काठमाडौँ ।  राष्ट्रिय युवा परिषद्ले युवा उद्यमशीलता प्रवर्धन सम्मेलनमा सहभागी हुन इच्छुक युवाहरूलाई आवेदन दिन आह्वान गरेको छ। परिषद्को आर्थिक वर्ष २०८१/८२ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत सञ्चालन गरिने सम्मेलन सातै प्रदेशमा आगामी असार महिनाको अन्त्यसम्म सञ्चालन गरिने जनाएको हो ।

सम्मेलनको उद्देश्य मुलुकभरिका युवामा उद्यमशीलता, सिर्जनशीलता, नवप्रवर्तनशीलता, सीप र सकारात्मक सोचको विकास गरी उनीहरूलाई स्वरोजगार तथा उत्पादनमूलक क्रियाकलापमा संलग्न गराउने रहेको छ। परिषद्का अनुसार युवा शक्ति राष्ट्रको अमूल्य सम्पत्ति भएकाले उनीहरूलाई राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणमा क्रियाशील बनाउँदै समृद्ध राष्ट्र निर्माणको प्रमुख आधारका रुपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।

सम्मेलनमा सहभागी हुन चाहने युवाले २०८२ साल जेठ १६ गतेभित्र आवेदन दिनुपर्नेछ। आवेदन दिने प्रक्रियाको लागि परिषद्को वेबसाइट www.nyc.gov.np मा उपलब्ध गुगल फर्म भर्न सकिनेछ वा सूचनासँग समावेश गरिएको क्यूआर कोड स्क्यान गरी पनि आवेदन दिन सकिने परिषद्ले जनाएको छ।

आवेदन दिन चाहने युवाले निम्न योग्यता पूरा गर्नु पर्नेछ:

– उमेर १६ देखि ४० वर्षभित्रको नेपाली नागरिक हुनु पर्ने,
– उद्यम गर्ने चाहना भएका वा हाल व्यवसाय सञ्चालन गरिरहेका, साथै उद्यमशीलता, नवप्रवर्तन र इन्क्युवेशनमा रुचि राख्ने हुनु पर्ने,
– सम्बन्धित प्रदेशमा आयोजना गरिने कार्यक्रममा त्यहीँ स्थायी रूपमा बसोबास गर्ने हुनु पर्ने।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*