कांग्रेस सांसदको मागः ओली नेतृत्वको सरकारले काम गर्न सकेन, कांग्रेस नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाऔं

काठमाडौं । नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले वर्तमान सरकार असफल भएको भन्दै अब राष्ट्रिय सहमतिमा आधारित कांग्रेस नेतृत्वको सरकार बनाउनु पर्ने माग गरेका छन्।
प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै उनले अहिलेको गठबन्धन सरकार (कांग्रेस र एमाले मिलेर बनेको) जनअपेक्षा अनुसार चल्न नसकेको बताए। उनका अनुसार सरकार, संसद र न्यायालय – तीनै अंगप्रति जनताको भरोसा घटेको छ।
उनले सरकार र संसद जसरी चल्नुपर्ने हो त्यसरी नचलेको भन्दै जनताको समस्या समेत संसद्मा उठ्न नसकेको बताए। अहिले न्यायपालिका प्रति पनि जनताको आशा भरोसा पैदा नभएको जिकीर गरे।
उनले राजनीतिक स्थायित्व र संविधानको रक्षाका लागि अब केही समयको लागि सबै दल मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताए।
गौतमले शीर्ष नेताहरूलाई टाउको जोडेर राष्ट्रिय सहमति निर्माण गर्न आग्रह गर्दै संविधान संशोधन, जनविश्वास निर्माण र मुलुकलाई सही दिशातर्फ डोर्याउन अब सहमतिमा अघि बढ्नुपर्ने बताए। त्यसो गर्न नसके गणतन्त्र र संघीयता नै जोखिममा पर्न सक्ने चेतावनी पनि उनले दिएका छन्।











