सुदूरपश्चिम प्रदेशको ३३ अर्ब ४७ करोडको बजेट, पूँजीगत खर्चमा ५९.२५ प्रतिशत

२ असार २०८२, सोमबार ०७:०४

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह थापाले आइतबार प्रदेश सभामा बजेट प्रस्तुत गरेका हुन्।

प्रदेश सरकारले आगामी वर्षको बजेटमा भौतिक पूर्वाधार, सामाजिक विकास, कृषि, पर्यटन र रोजगारी सिर्जनाजस्ता क्षेत्रमा प्राथमिकता दिएको जनाएको छ। कुल बजेटमध्ये १९ अर्ब ८३ करोड २ लाख रुपैयाँ (५९.२५ प्रतिशत) पूँजीगत खर्चका लागि छुट्याइएको छ भने १० अर्ब २० करोड ८१ लाख रुपैयाँ (३०.४९ प्रतिशत) चालु खर्चका लागि विनियोजन गरेको छ।

त्यसैगरी तीन अर्ब ४२ करोड ७७ लाख रुपैयाँ (१०.२४ प्रतिशत) अन्तरवित्तीय हस्तान्तरणका लागि र १ करोड रुपैयाँ वित्तीय व्यवस्थाका लागि छुट्याइएको छ।

बजेट प्रस्तुत गर्दै मन्त्री थापाले आवश्यक खर्च धान्न प्रदेश सरकारले आन्तरिक स्रोत र संघीय सरकारबाट प्राप्त हुने अनुदान तथा बाँडफाँट रकमलाई आधार बनाएको जानकारी दिए। बजेट अनुसार आन्तरिक राजस्वबाट १ अर्ब ६५ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

नेपाल सरकारबाट राजस्व बाँडफाँडका रूपमा ९ अर्ब ८७ करोड २५ लाख रुपैयाँ, संघीय रोयल्टी बाँडफाँडबाट ८ करोड रुपैयाँ प्राप्त हुने उल्लेख छ। साथै संघीय सरकारले दिने वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ९२ करोड ५६ लाख रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ।

यसैगरी अघिल्लो आर्थिक वर्ष (२०८१/८२) को बजेट विनियोजनबाट बचत भएको रकम सात अर्ब ६६ करोड ६३ लाख रुपैयाँ खर्च धान्न प्रयोग गरिनेछ। त्यस्तै सशर्त अनुदानमार्फत ४ अर्ब १६ करोड ३० लाख, संघीय समपूरक अनुदानबाट ६० करोड २६ लाख र विशेष अनुदानबाट ५१ करोड ६० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*