लैङ्गिक हिंसा सम्बन्धी सचेतनाका लागि युएनएफपीए र बुद्ध एयरबीच सहकार्य

काठमाडौं । लैङ्गिक हिंसा रोकथाम र सचेतना अभिवृद्धिका लागि युएनएफपीए (संयुक्त राष्ट्रसंघको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी संस्था) र बुद्ध एयर प्रा.लि. बीच दुई वर्षे सहकार्य सम्झौता भएको छ।
सहकार्य अनुसार बुद्ध एयरका यात्रुहरूले बोर्डिङ पास, हवाईजहाजमा राखिएका पम्पलेट र “यात्रा” नामक पुस्तिकामार्फत लैङ्गिक हिंसाबारे उपयोगी जानकारी पाउनेछन्। हिंसा भएमा के गर्ने, कहाँ सेवा उपलब्ध छन् र पीडितका अधिकारबारेका सूचना श्रव्यदृश्य सामग्रीमार्फत समेत उपलब्ध हुनेछन्।
यो सहकार्यमार्फत युएनएफपीएले बुद्ध एयरका कर्मचारीलाई यौन शोषण र कार्यस्थलमा दुव्र्यवहारबारे तालिम दिनेछ। उजूरी प्रक्रिया, सुरक्षित कार्यस्थल निर्माण र सम्मानजनक व्यवहारका विषयमा प्रशिक्षण दिइने बताइएको छ।
त्यस्तै यो अभियानले हिंसा प्रभावितहरूलाई जीविकोपार्जनका अवसर सिर्जना गर्दै उनीहरूलाई समाजमा पुनस्र्थापित गर्ने लक्ष्य राखेको छ। उनीहरूलाई स्थानीय श्रम बजार र व्यवसायिक संस्थासँग जोड्ने प्रयास गरिने जनाएको छ।
हस्ताक्षर समारोहमा युएनएफपीएका नेपाल प्रतिनिधि वोन योङ हङ्गले बुद्ध एयरसँगको सहकार्यले यात्रुहरूलाई गन्तव्यसम्म पुग्दा लैङ्गिक हिंसाबारे महत्त्वपूर्ण जानकारी पुर्याउन सघाउने र सबैका लागि सुरक्षित र अधिकारमूलक वातावरण बनाउन बुद्ध एयरले देखाएको प्रतिबद्धता सराहनीय भएको बताए।
बुद्ध एयरकी कार्यकारी निर्देशक आस्था बस्नेत थापाले युएनएफपीएसँग सहकार्य गर्न पाउँदा खुशी भएको र संस्थामार्फत दैनिक हजारौँ यात्रुहरूसँगको सम्पर्कमा रहेर समुदायमा सकारात्मक सन्देश प्रवाह गर्न सकिन्छ भन्ने विश्वास भएको बताइन्।













