डाक्टरले आत्महत्या गर्छु भनेपछि हंगामा

२ असार २०८२, सोमबार १२:४५

काठमाडौँ । रामेछाप अस्पतालबाट हालै सरुवा भएका डा. केशव श्रेष्ठले फेसबुकमा आत्महत्या गर्ने संकेत दिएपछि हंगामा भएको छ। उनले अलविदा शीर्षकमा लामो भावुक स्टाटस लेख्दै आफूले अन्याय, अपमान र षड्यन्त्रको सिकार हुनुपरेको बताएका छन्। उक्त स्टाटस सार्वजनिक भएपछि उनी अहिले सम्पर्कविहीन छन् भने प्रहरी उनको खोजीमा जुटेको छ।

डा. श्रेष्ठको फेसबुक स्टाटस अनुसार उनी रामेछाप अस्पतालमा करिब २५ महिना कार्यरत रहे, जसमा १८ महिना अस्पताल प्रमुखको जिम्मेवारी सम्हाले। उनले अस्पताललाई सुधार्ने क्रममा विभिन्न अनियमितता हटाएको, केही करारका कर्मचारीलाई स्पष्टिकरण सोधेको र प्रशासनिक प्रणालीलाई व्यवस्थित गर्न खोज्दा स्थानीय नेताहरू र कर्मचारीहरूको विपक्षमा परेको उल्लेख गरेका छन्।

उनले विशेषगरी रामेछाप–०८ का केदार कार्कीमाथि अस्पतालमा हस्तक्षेप गर्ने, व्यक्तिगत स्वार्थका लागि दबाब दिने, आफूले नमान्दा धम्की दिने आरोप लगाएका छन्। ‘मेरो कार्यकक्षमै आएर ३ दिनमा तेरो सरुवा गरिन भने मेरो नाम पनि केदार होइन भनेर धम्की दिइयो,’ स्टाटसमा लेखिएको छ।

डा. श्रेष्ठले आफूलाई झूटो आरोप लगाएर सुनियोजित रूपमा बदनाम गरिएको, छानबिन प्रक्रिया नटुंगिंदै सरुवा गरिएको र मन्त्रालयका अधिकारीहरूले अमानवीय व्यवहार गरेको गुनासो गरेका छन्। १६ वटा टाँका लागेको शरीर, दुई वर्षीया छोरी र श्रीमती लिएर राति रामेछापबाट काठमाडौं आउनुपरेको र भोलिपल्ट बिहान हेटौंडा पुगेर मन्त्रालयमा हाजिर गरिनुपर्ने अवस्था आएको उनले उल्लेख गरेका छन्।

उनको भनाइ अनुसार स्वास्थ्य मन्त्रालयका केही अधिकारीहरू विशेष गरी प्रमुख प्रशासकीय अधिकृत र डा. नरेन्द्र झा, रेबती थापाको चलखेलमा असार मसान्तमा सरुवा गरिएको हो। उनले लेखेका छन्, ‘मैले अस्पताललाई उत्कृष्ट बनाउने प्रयास गरेँ, तर पुरस्कारको सट्टा कारबाही खेप्नुपर्‍यो।’

फेसबुकमा सार्वजनिक गरिएको भावुक सन्देशमा उनले आफू मानसिक रूपमा कमजोर बनिसकेको, धेरै पीडा सहन नसक्ने स्थितिमा पुगेको भन्दै सबैजनालाई माफ गर्न अनुरोध गरेका छन्। उक्त सन्देश बाहिरिएपछि उनका सहकर्मी, स्वास्थ्यकर्मी र शुभचिन्तकहरू चिन्तित छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*