चौतारा साँगाचोकगढी नगरपालिकामा अनुगमन भत्ताको नाममा ५० लाख ४० हजार झ्वाम

काठमाडौं । चौतारा साँगाचोकगढी नगरपालिकामा अनुगमन भत्ताको नाममा ठूलो रकम अनियमितता भएको खुलेको छ। आर्थिक वर्ष २०८०/८१ मा अनुगमन भत्ताको नाममा नगरपालिकाले ५० लाख ४० हजार रुपैयाँभन्दा बढी खर्च देखाएर मनपरी गरेको महालेखा परीक्षकको प्रतिवेदनले देखाएको हो।
नगरपालिकाले अनुगमनको नाममा गरेको मोटो खर्चलाई अनियमितताको रूपमा औंल्याएको छ। यो रकम स्थानीय तहका पदाधिकारी र कर्मचारीहरूले कार्यक्रम, तालीम, निर्माण कार्य लगायतका अनुगमनको नाममा खर्च गरेको देखाइएको छ। तर त्यो खर्च कानुनी रूपमा अस्वीकृत र अपारदर्शी हुने खालको रहेको महालेखाले प्रष्ट पारेको छ।
स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी ऐन, २०७५ (पहिलो संशोधन) को दफा ३(क) मा गोष्ठी, तालीम तथा कार्यक्रम, साथै निर्माण कार्यको अनुगमन गरेबापत कुनै भत्ता नपाउने उल्लेख छ। तर चौतारा साँगाचोकगढी नगरपालिकाका जनप्रतिनिधिहरू र कर्मचारीहरूले यो व्यवस्था कुल्चिँदै नियमविपरीत रकम बाँडेका छन्।
महालेखा परीक्षकको प्रतिवेदनले नगरपालिकाले यो कानुनी व्यवस्थाको धज्जी उडाउँदै अनुगमन भत्ताको नाममा मनपरी ढंगले रकम वितरण गरेको देखाएको छ।
त्यस्तै भ्रमण खर्चसम्बन्धी नियमावली, २०६४ को नियम ७ को उपनियम (३) अनुसार बस वा अन्य सार्वजनिक सवारी साधन उपलब्ध हुने ठाउँमा एकैदिन जानु र फर्कनु पर्ने खालको काममा खटिने पदाधिकारी वा कर्मचारीलाई केवल खाजा खर्च (२५ प्रतिशत) दिने भनिएको छ। तर नगरपालिकाले यो नियम पनि उल्लङ्घन गर्दै दैनिक भ्रमण भत्तासमेत बाँडेको प्रतिवेदनले औंल्याएको छ।
महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख भएअनुसार विभिन्न निर्माण काम तथा कार्यक्रम अनुगमनको नाममा जनप्रतिनिधिसहित ४५ जना पदाधिकारी र कर्मचारीले ५० लाख ४० हजार रुपैयाँभन्दा बढी रकम हिनामिना गरेका छन्। कतिपय भ्रमण कागजमै सीमित छन् भने कतिपयमा अनावश्यक भत्ताको नाममा खर्च लेखिएको छ।
जानैपर्ने काम भए वा गएको भए पनि नियमले भनेजस्तै दैनिक भ्रमण भत्ताबाट मात्र खर्च देखाउनुपर्नेमा नगरपालिकाले त्यसमा समेत मनपरी गरेको देखिएको छ। खर्च प्रक्रिया अपारदर्शी बनाइएको छ भने करसमेत छुट्याएर लेखिएको छैन। यसरी नियमको उल्लङ्घन गर्दै रकम खर्च गरिएकोमा महालेखा परीक्षकले प्रश्न उठाएको छ।
यस विषयमा चौतारा नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटालाई सम्पर्क गर्न खोज्दा सम्पर्कमै आउन चाहेनन्।













