वाग्मती सरकारद्वारा सवारी करमा छुटको घोषणा, तीन वर्षको कर बुझाए बाँकी मिनाहा

काठमाडौँ । वाग्मती प्रदेश सरकारले सवारीसाधन कर तिर्न बाँकी रहेका सवारीधनीहरूका लागि कर मिनाहा योजना ल्याएको छ। प्रदेश सरकारले आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को बजेटमा यस्तो छुटको व्यवस्था गरिएको हो।
बजेट अनुसार आर्थिक वर्ष २०८१/८२ सम्म सवारीसाधन कर नबुझाएका र दर्ता प्रमाणपत्र नवीकरण नगरेका सवारीधनीहरूले पछिल्ला तीन आर्थिक वर्ष ०८०/८१, ०८१/८२ र ०८२/८३—को कर तथा नवीकरण दस्तुर र जरिवाना २०८३ जेठ मसान्तभित्र बुझाएमा, त्यसअघिका वर्षहरूको सवारी कर, दस्तुर र जरिवाना मिनाहा गरिनेछ।
वाग्मती सरकारले सार्वजनिक गरेको बजेटको बुँदा नम्बर २१४ मा स्पष्ट गरिएको छ, ‘आर्थिक वर्ष २०८१/८२ सम्म प्रचलित कानुनअनुसार सवारीसाधन कर नबुझाएका र सवारीसाधन दर्ताको प्रमाणपत्र नवीकरण नगरेका सवारीधनीले पछिल्लो तीन आर्थिक वर्षको सवारीसाधन कर तथा नवीकरण दस्तुर संवत् २०८३ जेठ मसान्तसम्म बुझाएमा सोभन्दा अगाडिका आर्थिक वर्षहरूमा लाग्ने सवारीसाधन कर तथा नवीकरण दस्तुर र जरिवानामा छुट गरिनेछ।’













