सिन्धुपाल्चोकको तीन ठाउँमा पहिरो गएपछि अरनिको राजमार्ग पूर्णरूपमा बन्द
३ असार २०८२, मंगलवार ०९:३६

काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको कोदारी, लार्चा र कोप्लाङमा पहिरो खसेपछि अरनिको राजमार्ग पूर्णरूपमा बन्द भएको छ।
प्रहरीका अनुसार कोदारीमा असार १ गते तथा लार्चा र कोप्लाङमा असार ३ गते पहिरो गएकाले अरनिको राजमार्ग पूर्णरूपमा बन्द भएको हो।
त्यस्तै ललितपुरको छपेलीमा पनि पहिरो गएकाले कान्तिलोकपथ पूर्णरूपमा बन्द भएको प्रहरीले जानकारी दिएको छ।
नवलपरासीको बर्दघाट सुस्ता पूर्वको बिनयी खोलामा गएको बाढीका कारण पूर्व–पश्चिम राजमार्ग पनि पूर्णरूपमै बन्द भएको छ। उता गुल्मीको बर्लबामा गएको पहिरोका कारण कालिगण्डकी करिडोर पनि खुल्न सकेको छैन।
प्रहरीले धनकुटाको साँगुरिगढी गाउँपालिकामा गएको पहिरो र जुम्लाको चुलेलगाउँमा गएको पहिरो भने हटाएको छ। यसँगै रवि राके भेडेटार सडक र जुम्ला मुगु सडक खण्ड एकतर्फी सुचारू भएको छ।











