अब वर्षायाममा पनि मेलम्चीको पानी निर्वाध रुपमा काठमाडौंमा बितरण हुन्छः मन्त्री यादव

३ असार २०८२, मंगलवार १२:१४

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले अब बर्षायामको समयमा पनि मेलम्चीको पानी निर्वाध रुपमा काठमाडौँवासीका घर घरमा बितरण हुने बताएका छन् ।

सोमबार मेलम्ची स्थित रिबर्मा खोलामा निर्माण गरिएको खानेपानी टयाङ्कीको स्थलगत रुपमा अनुगमन तथा निरीक्षण पश्चात मन्त्री यादवले अब बर्षातको समयमा पनि काठमाडौँवासीलाई स्वच्छ खानेपानीको निरन्तर आपूर्ति हुने बताए ।

उनले भने, ‘काठमाडौँमा पानी बितरणका लागि रिबर्मा खोलामा निर्माण गरिएको खानेपानी टयाङ्कीको आज सफल परिक्षण भएको छ । बर्षायाम सुरु भएसँगै उत्पन्न हुने जोखिमलाई मध्यनजर गर्दै अब वैकल्पिक उपायस्वरूप रिबर्मा खोलाको पानी मेलम्चीको सुरुङमार्ग हुँदै काठमाडौँमा आपूर्ति गरिने व्यवस्था गरेकाछौँ ।’

बर्षायाममा रिबर्मा खोलाको पानी मेलम्चीको सुरुङ मार्गबाट पठाइने र काठमाडौँ बासीलाइ उक्त खोलाको पानी बाह्रै महिना निर्वाध रुपमा बितरण गरिने मन्त्री यादवले जानकारी दिए ।

मन्त्री यादवले भने, ‘यो व्यवस्थाले उपत्यकावासीको दीर्घकालीन खानेपानी समस्याको दीगो समाधान गर्ने अपेक्षा गरिएको छ । अब काठमाडौँका नागरिकले वर्षायाममा पानीका लागि दुस्ख पाउनु पर्दैन । हामी जिम्मेवार सरकार हौँ, जनताको प्राथमिकता बुझ्नु र समाधान गर्नु हाम्रो दायित्व हो ।’

रिबर्माको पानी परिक्षण गरिएसँगै वर्षायामको बेला हरेक वर्ष मेलम्चीको पानी वितरणमा अवरोध आउने परम्परालाई तोड्दै मन्त्री यादवको सक्रिय पहलमा यसपालि वर्षायाममा पनि मेलम्चीको पानी काठमाडौँमा आउने सुनिश्चित भएको बताइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*