ग्राहक गुमाउँदै याडिया, भारी छुटमा बेच्न बाध्य भयो ई८एस प्रो स्कुटर

काठमाडौँ । चीनको इलेक्ट्रिक दुईपांग्रे ब्रान्ड याडिया नेपालमा टिक्न संघर्ष गरिरहेको छ। बजारमा निरन्तर घट्दै गएको ग्राहकको विश्वास र प्रतिस्पर्धी ब्रान्डहरूको चापबीच कम्पनीले अहिले ई८एस प्रो स्कुटरमा भारी छुट दिँदै अस्तित्व जोगाउने प्रयास थालेको छ।
पहिले २ लाख ३० हजार रुपैयाँ मूल्य तोकेको स्कुटर अहिले कम्पनीले केवल १ लाख ८५ हजार रुपैयाँमा बिक्री गर्ने घोषणा गरेको छ। यसरी मूल्यमा झण्डै ५० हजार रुपैयाँको कटौती हुनु आफैमा प्रश्नको विषय बनेको छ। स्कुटरमा कुनै प्राविधिक सुधार नगरी अचानक यस्तो भारी छुट दिनु भनेको कम्पनी ग्राहक गुमाउँदै गएको संकेत हो।
ग्राहकको चासो घट्दै गएको महसुस भएपछि कम्पनीले उपहारको लोभ देखाएर बिक्री बढाउने प्रयास समेत गरेको छ। अहिले स्कुटर किन्ने हरेक ग्राहकलाई याडिया ब्राण्डको हेल्मेट, रेनकोट र पेन उपहार दिने घोषणा गरिएको छ। तर, बजारमा उपहार बाँडेर ग्राहक लोभ्याउने प्रयासभन्दा उत्पादनको गुणस्तर र विश्वसनीयतामा ध्यान दिनुपर्ने आवाज उठ्न थालेको छ।
याडियाले ई८एस प्रो स्कुटरलाई शक्तिशाली र आधुनिक प्रविधिसँग युक्त भएको दाबी गर्दै आएको छ। कम्पनीका अनुसार यस स्कुटरको शीर्ष गति ६० किमी प्रति घण्टा, एकपटक चार्जमा १५० किलोमिटरसम्मको दायरा, ७२V ३८AH ग्राफिन ब्याट्री, ३००० वाट मोटर पावर, १२ इञ्च अलोय रिम, हाइड्रोलिक सस्पेन्सन, ३२ लिटर अन्डर सिट स्टोरेज र चम्किलो डिजिटल ड्यासबोर्ड रहेको छ।
तर, यस्ता फिचरहरूको कागजी सूचीले मात्र प्रयोगकर्तालाई सन्तुष्ट पार्न सक्दैन। धेरै प्रयोगकर्ताहरूले वास्तविक प्रयोगमा स्कुटरको गति, दायरा र ब्याट्री क्षमतामा अपेक्षित परिणाम नपाएको प्रतिक्रिया दिएका छन्। यस्तै कमजोरीका कारण ग्राहकहरू याडियाबाट विमुख हुन थालेका हुन्।
प्रतिस्पर्धी ब्रान्डहरूले ग्राहकहरूको विश्वास जित्दै बिक्री बढाइरहेका छन्। त्यही कारण याडिया बजारमा पछाडि परेको र बाँच्न छुटमार्फत व्यापार बढाउने रणनीतिमा गएको देखिन्छ।













