पुँजी बजार भारी गिरावटः गुम्दै अर्बौ लगानी, प्रवेशको मौका कि अस्थिरताको घण्टी ?

काठमाडौँ । शेयर बजारले पछिल्लो समय लगानीकर्तालाई निरन्तर अन्योलमा राख्दै नाटकीय उतारचढाव देखाइरहेको छ । बजार सुधारका लागि आवश्यक अधिकांश नीतिगत पहल अघि बढिसकेको अवस्थामा पनि नेप्सेमा गिरावट रोकिएको छैन । नयाँ सरकार गठनपछि दबाबमा परेको बजारलाई चलायमान बनाउन अर्थ मन्त्रालयले सार्वजनिक गरेको २१ बुँदे राहत तथा सुधार प्याकेज, सम्पत्ति शुद्धीकरणसम्बन्धी त्रास कम गर्ने प्रयास तथा पुँजीगत लाभकर घटाउने नीतिगत निर्णयले बजार सुधारको अपेक्षा बढाएको थियो । त्यस्तै, नेपाल राष्ट्र बैंकले पनि शेयर बजारसँग सम्बन्धित विभिन्न नीतिमा तुलनात्मक रूपमा लचकता अपनाइसकेको छ भने नेपाल धितोपत्र बोर्डसमेत बजार सुधारका विषयमा सक्रिय देखिएको छ । तर, नीतिगत वातावरण सुधारिँदै जाँदा पनि बजारले अपेक्षित गति लिन सकेको छैन ।
लाभांश सिजन सुरु भइसकेको र सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्षको वित्तीय विवरणका आधारमा लाभांश घोषणा गर्न थालेको समयमा समेत बजारमा सकारात्मक उत्साह देखिन सकेको छैन । सामान्यतया लाभांशको अपेक्षा र कम्पनीहरूको वित्तीय अवस्थाले लगानीकर्ताको आकर्षण बढाउने भए पनि पछिल्ला कारोबारमा त्यसको प्रभाव कमजोर देखिएको छ । सरकार तथा नियामक निकायबाट भएका सुधारात्मक पहलले बजारका लागि सकारात्मक आधार तयार गरेको भए पनि त्यसलाई कारोबारमा रूपान्तरण गर्ने गरी लगानीकर्ताको विश्वास फर्किन सकेको देखिँदैन । बजारमा सुधारको सम्भावना देखिए पनि लगानीकर्ताको व्यवहारमा अझै ‘पर्ख र हेर’को अवस्था कायम रहेको छ ।
बुधबार पनि शेयर बजारमा भारी गिरावट आएको छ । यद्यपि, पछिल्लो गिरावटलाई कतिपय लगानीकर्ताले बजारको सामान्य करेक्सनका रूपमा व्याख्या गरेका छन् । बजारमा लामो समयदेखि दबाब रहँदा केही कम्पनीका शेयरमूल्य तुलनात्मक रूपमा आकर्षक बिन्दुमा पुगेको र अधिकांश नीतिगत अवरोधसमेत हट्दै गएको भन्दै बजार प्रवेशका लागि अवसर सिर्जना भएको धारणा पनि सार्वजनिक भइरहेका छन् । तर, सुधारका आधार तयार हुँदाहुँदै पनि बजार तत्कालै माथि उठ्न नसक्नुले नीतिगत सुधार मात्र पर्याप्त नभएको संकेत गरेको छ। बजारमा माग सिर्जना गर्न लगानीकर्ताको विश्वास, तरलता, जोखिम लिने क्षमता र समग्र मनोवैज्ञानिक पक्षले समेत महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ ।
पछिल्लो समय बजारमा देखिएको ठूला लगानीकर्तामाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान र स्रोत खोजीको त्रास हो । सरकारले ठूला लगानीकर्ताको लगानी तथा सम्पत्तिको स्रोतसम्बन्धी अनुसन्धान अघि बढाएपछि बजारमा ठूलो पूँजी परिचालन गर्ने लगानीकर्ताहरू केही हदसम्म पछि हटेको चर्चा छ । सानो परिमाणमा शेयर खरिद गर्दा समेत लगानीको स्रोतबारे प्रश्न उठ्न सक्ने मनोविज्ञान बनेको अवस्थामा ठूला लगानीकर्ताले जोखिम लिन हिच्किचाएको देखिन्छ । ठूला लगानीकर्ताको सक्रियता कमजोर हुँदा साना तथा मध्यम लगानीकर्ताको मात्र सहभागिताले बजारमा बलियो माग सिर्जना गर्न कठिन हुने भएकाले पछिल्लो गिरावटलाई कतिपय बजार सहभागीले नीतिगत कमजोरीभन्दा पनि नियामकीय तथा मनोवैज्ञानिक त्राससँग जोडेर हेरेका छन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३६.२५ अकंले घटेर २६१८.०३ बिन्दुमा कायम भएको छ । आज ३५२ कम्पनीको २ करोड १६ लाख २२ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ३५ करोड ६६ लाख रुपैयाँको कारोबार भएको हो ।
यसदिन १३ वटै उपसूचक राताम्य भएका छन् । आज बैंक तथा वित्तीय संस्था, जलविद्युत कम्पनी र जीवन बीमा कम्पनीको शेयर मूल्यमा भारी गिरावट आएको हो ।
बुधबार २३ कम्पनीको शेयर मूल्य बढेको छ भने २५३ कम्पनीको घटेको छ । २ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।











