भन्सार छलीको सामानमा घुस माग्ने सशस्त्रका जवान रंगेहात पक्राउ

२७ श्रावण २०८२, मंगलवार ०९:५७

काठमाडौं । भन्सार छलेर ल्याएको सामानमा घुस लिएर चेकपास गराउने क्रममा सशस्त्र प्रहरीका जवान याम बहादुर खत्री रंगेहात पक्राउ परेका छन्।

रुपन्देहीको कोटहीमाई गाउँपालिकास्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (बीओपी) मझगावामा कार्यरत जवान खत्री १५ हजार रुपैयाँ घुस सहित पक्राउ परेका हुन्।

जवान खत्रीले भन्सार छलेर ल्याएको सामानमा घुस लिएर चेकपास गर्ने गरेको सूचना अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेको थियो। यसै सूचनाको आधारमा अख्तियारको बुटवल कार्यालयको टोलीले निगरानी गरेको थियो।

निगरानीको क्रममा साउन २६ गते सशस्त्रका जवान खत्रीले सेवाग्राहीबाट १५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकम सहित अख्तियारले रंगेहात पक्राउ गरेको हो। उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*