साढे २४ लाख घुस सहित रंगेहात पक्राउ परेका भक्तपुर मालपोतका हाकिम विरुद्ध मुद्दा

२८ श्रावण २०८२, बुधबार १३:००

काठमाडौं । गत असार ३१ गते २४ लाख ५० हजार रुपैयाँ घुस सहित रंगेहात पक्राउ परेका भक्तपुर मालपोत कार्यालयका हाकिम कुमार आचार्य विरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ।

उनले चाँगुनारायणमा रहेको १४ रोपनी ४ आना जग्गा मोही र लगत कट्टा गरी सो जग्गाको मोहीको नाममा लालपूर्जा बनाउन आएका सेवाग्राहीसँग घुस लिंदा कार्यालय परिसरबाटै रंगेहात पक्राउ परेका थिए। उनको साथबाट २ थान मोबाइल समेत बरामद भएको थियो।

त्यस दिन उनीसँगै सोही कार्यालयका नायब सुब्बा दिपक प्रसाद अधिकारी र कार्यालय सहयोगी टिकाराम राउत पनि पक्राउ परेका थिए। दुवैजनाको साथबाट १–१ थान मोबाइल पनि अख्तियारले बरामद गरेको थियो।

पक्राउ गरेर अनुसन्धान गरेको अख्तियारले कार्यालय सहयोगी टिकाराम राउतसँग मिलेर सेवाग्राहीबाट घुस लिएको खुलेपछि अख्तियारले हाकिम आयार्च सहित कार्यालय सहयोगीलाई समेत प्रतिवादी बनाएर आज विशेष अदालतमा मुद्दा चलाएको हो। नासु दिपक प्रसाद अधिकारीलाई भने प्रतिवादी बनाएको छैन।

अख्तियारले मुद्दा दर्ता गरेसँगै सरकारी कर्मचारी स्वतः निलम्बनमा पर्ने भएकाले उनीहरू दुबैजना आजैबाट निलम्बनमा परेका छन्। अख्तियारले उनीहरूलाई २४ लाख ५० हजार बिगो कायम गरेर ४ वर्षसम्म कैद र बिगो जफतको माग सहित मुद्दा दर्ता गरेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*