एडीबी र महिला आर्थिक पत्रकार संघको सहकार्यमा ६ दिने एड्भान्स इकोनोमिक जर्नालिजम तालिम शुरु

२२ भाद्र २०८२, आईतवार १५:२१

काठमाडौँ । महिला आर्थिक पत्रकार संघ फेजा र एशियाली विकास बैंक एडीबीको सहकार्यमा ६ दिने एड्भान्स इकोनोमिक जर्नालिजम तालिम शुरु भएको छ । भदौ २२ गतेदेखि काठमाडौँको एभेरेष्ट होटलमा शुरु भएको कार्यक्रममा उपत्यका बाहिर र भित्र गरी कुल २५ जना महिला आर्थिक पत्रकारहरुको सहभागिता रहेको छ ।

उद्घाटन सत्रमा महिला आर्थिक पत्रकार संघ फेजाकी अध्यक्ष शर्मिला ठकुरीले अध्यक्षता ग्रहण गरेकी थिइन् भने कार्यक्रमको विशेष अतिथिहरुमा एडीबीका प्रमुख आर्थिक सल्लाहकार इयान ह्यानसन र अर्थमन्त्रालयका उपसचिव हरिशचन्द्र ढकाल रहेको थियो। कार्यक्रममा स्वागत मन्तब्य दिँदै फेजाकी अध्यक्ष शर्मिला ठकुरीले ६ दिने तालिम कार्यक्रम मार्फत महिला पत्रकारहरुको अर्थतन्त्रप्रतिको बुझाई र लेखनलाई धारिलो बनाउन मद्दत गर्ने बताइन् ।

त्यसैगरी मन्तब्य दिँदै एडीबीका प्रमुख अर्थशास्त्री इयान ह्यानसनले यो किसिमको तालिम दिन पाउँदा हर्षित भएको र तालिमले महिला आर्थिक पत्रकारहरूको भूमिका अझ सशक्त बनाउनेमा विश्वास व्यक्त गरे ।

तालिम पश्चात महिला आर्थिक पत्रकारहरुको आर्थिक विषयवस्तुप्रतिको बुझाई,गहिराइमा पुग्न सहयोगी हुनेमा उनले जोड दिए । कार्यक्रममा अर्थमन्त्रालयका उपसचिव हरिशचन्द्र ढकालले यो तालिमले महिला आर्थिक पत्रकारको गुणस्तर र क्षमतामा अभिवृद्धि गर्न सहयोगी हुने हिसावले महत्वपूर्ण रहेको बताए ।

६ दिनसम्म चल्ने तालिममा पत्रकारितामा स्थापित र लब्धप्रतिष्ठित स्वदेशी र विदेशी एक दर्जनभन्दा बढी प्रशिक्षकहरु रहेका छन्। यो तालिम पश्चात सहभागी २५ जनामध्येबाट एक जनालाई लेखनवृत्ति (फेलोशीप) प्रदान गरिने छ । एडीबी र फेजाको सहकार्यमा एड्भान्स तालिम पश्चात प्रदेशस्तरमा पनि तालिम प्रदान गर्ने कार्यक्रम रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*