नेपाल र ग्रेनाडाबीच कूटनीतिक सम्बन्ध स्थापना, कूटनीतिक सञ्जाल १८६ देशमा विस्तार

न्युयोर्क । नेपाल र क्यारिबियन टापु राष्ट्र ग्रेनाडाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएको छ । आज केहीबेर अघि संयुक्त राष्ट्र संघको हलमा परराष्ट्र मन्त्री शिशिर खनाल र ग्रेनाडाका अर्थमन्त्री डेनिस कर्नवालबीच सम्झौतामा हस्ताक्षर भएसँगै विश्वभर नेपालको कूटनीतिक सम्बन्ध विस्तार भएका मुलुकहरूको संख्या १८६ पुगेको छ ।
न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगमा आयोजित एक विशेष समारोहका बीच दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त विज्ञप्ति (जोइन्ट कम्युनिके) मा हस्ताक्षर भएको संयुक्त राष्ट्र संघमा नेपालकातर्फबाट आवासिय प्रतिनिधी लोक बहादुर थापाले जानकारी दिनु भएको छ । परराष्ट्र मन्त्री खनाल र ग्रेनाडाका अर्थमन्त्री डेनिस कर्नवालबीच उक्त सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएसँगै परराष्ट्र नीतिका क्षेत्रमा यसलाई नेपालको एक महत्वपूर्ण कोशेढुङ्गाका रूपमा लिइएको छ ।

हस्ताक्षर समारोह अघि दुवै देशका प्रतिनिधिहरूबीच साझा वैश्विक प्राथमिकताका विषयमा फलदायी छलफल भएको थियो । छलफलका क्रममा दिगो विकास लक्ष्यको प्रगतिलाई तीव्रता दिने र जलवायु परिवर्तनको बढ्दो प्रभावको सामना मिलेर गर्ने विषयमा जोड दिइएको छ । यसका साथै दुवै राष्ट्रले पर्यटन र शिक्षा जस्ता क्षेत्रमा आपसी सहकार्य बढाउने र उत्कृष्ट अभ्यासहरू आदानप्रदान गर्ने उत्कृष्ट अवसरहरूको खोजी गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । यस नयाँ कूटनीतिक यात्रासँगै विश्व मञ्चमा नेपालको उपस्थिति र कूटनीतिक सञ्जाल थप फराकिलो र सुदृढ बनेको रुपमा हेरिएको छ ।










