सिन्धुपाल्चोकमा हाइड्रोपावरको शेयर विवाद चर्किदा पालिका भवनमा तोडफोड

काठमाडौैँ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा हाइड्रोपावर कम्पनीले दिनुपर्ने शेयरको विषयलाई लिएर तनाव चर्किएको छ। आन्दोलनरत स्थानीय आक्रोशित बन्दै गएपछि पालिका भवनमा तोडफोड भएको हो।
स्थानीयको दाबीसँगै लामो समयदेखि बन्द रहेको माथिल्लो भोटेकोशी पावर कम्पनी १० दिनपछि पुनः सञ्चालनमा आएको थियो। विद्युत उत्पादन नियमित बनाउन कम्पनीले गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पा र अन्य जनप्रतिनिधिसँग छलफल गरेको थियो। तर आन्दोलनरत समूहलाई छलफलमा सामेल नगरिएको भन्दै स्थानीय आपत्ति जनाएका थिए।
यही विरोधका क्रममा ठूलो संख्यामा स्थानीय पालिका कार्यालय पुगेका थिए। स्थिति नियन्त्रण बाहिर जाँदा ढुंगामुढा चलेको र भवनमा क्षति पुगेको प्रहरीले जनाएको छ। ‘पालिका अध्यक्ष राजीनामा दे’ जस्ता नारासहित विरोध प्रदर्शनमा उत्रिएका स्थानीयले अध्यक्षमाथि गुण्डालाई संरक्षण गरेको आरोपसमेत लगाएका छन्।
करिब दुई दशकदेखि ४६ मेगावाट क्षमताको माथिल्लो भोटेकोशी जलविद्युत् आयोजना सञ्चालनमा रहे पनि स्थानीयलाई तोकिएको १० प्रतिशत शेयर नदिएको भन्दै पटक–पटक विवाद हुँदै आएको छ।













