उपसभामुखको अनुभवले बिवाईडी गाडीको गुणस्तरमाथि गम्भीर प्रश्न, भनिन् ‘झन्डै म मरिनँ’

काठमाडौं । उपसभामुख इन्दिरा राना मगरले प्रयोग गर्दै आएको सरकारी बिवाईडी गाडीको स्क्रिन स्पष्ट नदेखिने गम्भीर समस्या सार्वजनिक गरेपछि चीनियाँ विद्युतीय गाडी बिवाईडीको गुणस्तरमाथि गम्भीर प्रश्न उठेको छ । स्क्रिन नै स्पष्ट नहुँदा पटक–पटक दुर्घटनाको जोखिम मोल्नुपरेको र आफ्नो ज्यानसमेत जोखिममा परेको गुनासोसहित उपसभामुख रानाले आइतबार उक्त गाडी फिर्ता गरेकी छन् ।
उपसभामुख रानाले संघीय संसद सचिवालयमा औपचारिक प्रक्रिया पूरा गरी गाडीको चाबी हस्तान्तरण गरेकी हुन् । चाबी बुझाउँदै उनले बिवाईडी गाडीको स्क्रिन क्लियर नहुने समस्याका कारण धेरै पटक दुर्घटनाबाट जोगिनुपरेको र एकपटक त ज्यानै जाने अवस्था सिर्जना भएको बताइन् ।
उनले आफूले प्रयोग गरेको बीवाईडी गाडी र २२ वर्ष पुरानो ल्यान्डक्रुजरको तुलना गर्दै भनिन्, ‘यो बिवाईडीको हो, यो ल्यान्डक्रुजर २२ वर्ष पुरानो गाडीको हो । बिवाईडीको स्क्रिन नै क्लियर हुँदैन । यसले धेरै पटक ठोक्किन खोज्यो । झन्डै मेरो ज्यान गएको थियो । आज म यो बुझाउँदै छु । झन्डै म चाहिँ मरिनँ, यही गाडीले गर्दा ।’
सरकारी पदमा रहेकी उच्च पदस्थ व्यक्तिबाट सार्वजनिक रूपमा यस प्रकारको गम्भीर गुनासो आएपछि नेपालमा प्रयोग भइरहेका बिवाईडी गाडीको सुरक्षा, प्रविधि र गुणस्तरमाथि प्रश्न उठेको छ । आधुनिक प्रविधि, स्मार्ट स्क्रिन र विद्युतीय प्रणालीलाई मुख्य आकर्षण बनाउँदै बजारमा भित्रिएको बीवाईडी गाडीमा नै स्क्रिन स्पष्ट नदेखिने समस्या देखिनु यात्रु सुरक्षाका हिसाबले गम्भीर विषय मानिएको छ ।
उपसभामुख राना आइतबार सिंहदरबारबाट ट्याक्सी चढेर बाहिरिएकी थिइन् । प्रतिनिधि सभा विघटन नभएको भए उपसभामुखसहित सभामुखको कार्यकाल अझै दुई वर्ष बाँकी रहने थियो । तर प्रतिनिधि सभा विघटन भएको र संविधानको व्यवस्था अनुसार उनको कार्यकाल आज रातिबाट समाप्त हुँदैछ ।
संविधानको धारा ९१ को उपधारा ६ (क) मा प्रतिनिधि सभा विघटन भएको अवस्थामा सभामुख र उपसभामुख अर्को प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिनसम्म पदमा बहाल रहने व्यवस्था छ । फागुन २१ गते हुने निर्वाचनका लागि आज र भोलि समानुपातिक तर्फको सूची बुझाउने कार्यतालिका रहेको छ । दलहरूले सूची बुझाएसँगै मनोनयन दर्ता भएको मानिने भएकाले सोही आधारमा उपसभामुख रानाले आजै सरकारी गाडी फिर्ता गरेकी हुन् ।
बिवाईडी गाडीलाई लिएर यसअघि पनि विभिन्न प्रयोगकर्ताबाट प्रविधि, सफ्टवेयर र स्क्रिनसम्बन्धी गुनासा आउने गरेका थिए । तर उपसभामुख जस्तो उच्च तहको पदाधिकारीबाट ‘ज्यानै जाने अवस्था आयो’ भन्ने स्तरको टिप्पणी आउनुले बीवाईडीको विश्वसनीयतामाथि थप प्रश्न थपिएको छ ।













