नेपाल लाइफको रेटिङ ‘डबल ए’ मा स्तरोन्नति, वित्तीय सबलता र दाबी भुक्तानी क्षमता मजबुत

काठमाडौं । नेपालको जीवन बीमा क्षेत्रमा अग्रणी स्थान बनाएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको क्रेडिट रेटिङमा उल्लेखनीय सुधार भएको छ । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीको इश्युअर रेटिङ ‘आईसीआरए एनपी–आईआर एए–’ बाट बढाएर ‘आईसीआरए एनपी–आईआर एए’ कायम गरेको हो ।
रेटिङ प्रतिवेदनले कम्पनीको वित्तीय सबलता, सुधारिएको सोल्भेन्सी अवस्था, लगानी पोर्टफोलियोको विविधीकरण, बलियो बजार उपस्थिति र दीर्घकालीन व्यावसायिक क्षमतालाई उच्च मूल्याङ्कन गरेको छ । ‘एए’ रेटिङले वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा उच्च स्तरको सुरक्षा र अत्यन्त न्यून कर्जा जोखिम रहेको जनाउँछ ।
सन् २००१ मेदेखि जीवन बीमा सेवा प्रदान गर्दै आएको नेपाल लाइफ दुई दशकभन्दा लामो अनुभव, स्थापित बजार उपस्थिति र व्यावसायिक व्यवस्थापनका कारण उद्योगकै अग्रणी कम्पनीका रूपमा स्थापित छ । कुल ग्रस प्रिमियम आम्दानीका आधारमा कम्पनीको बजार हिस्सा आर्थिक वर्ष २०८२/८३ मा करिब २७ प्रतिशत पुगेको छ । जीवन बीमा क्षेत्रमा २५ प्रतिशतभन्दा बढी बजार हिस्सा कायम राख्दै कम्पनीले आफ्नो नेतृत्वलाई थप सुदृढ बनाएको छ । कुल सम्पत्तिका आधारमा समेत कम्पनी उद्योगकै सबैभन्दा ठूलो जीवन बीमा कम्पनीका रूपमा रहेको इक्रा नेपालको प्रतिवेदनमा उल्लेख छ । कम्पनीको देशभर १९६ वटा शाखा सञ्चालनमा छन् । सशक्त अभिकर्ता सञ्जाल, अनुभवी सञ्चालक समिति र दक्ष व्यवस्थापन टोलीले कम्पनीको व्यावसायिक विस्तार तथा सञ्चालन प्रभावकारितामा महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन् ।
कम्पनीको वित्तीय सबलताको महत्वपूर्ण सूचकका रूपमा रहेको सोल्भेन्सी अनुपातमा समेत सुधार देखिएको छ । आर्थिक वर्ष २०८०/८१ को मध्य जुलाई २०२४ मा १४५ प्रतिशत रहेको सोल्भेन्सी अनुपात मध्य जुलाई २०२५ मा बढेर १५४ प्रतिशत पुगेको छ । नियामकीय न्यूनतम सीमा १३० प्रतिशत रहेको अवस्थामा कम्पनीले त्यसको तुलनामा उल्लेख्य रूपमा उच्च सोल्भेन्सी अनुपात कायम गरेको छ । यसले कम्पनीको दायित्व वहन क्षमता र वित्तीय सुरक्षाको आधारलाई थप मजबुत बनाएको छ ।
नेपाल लाइफले आफ्नो लगानी पोर्टफोलियोलाई विविधीकरण गर्दै गुणस्तरीय लगानी व्यवस्थापनमा पनि प्रगति गरेको छ । मध्य जुलाई २०२६ सम्म कम्पनीको कुल लगानीको करिब १८ प्रतिशत सरकारी ऋणपत्रमा रहेको छ । अघिल्लो वर्षसम्म सरकारी ऋणपत्रमा लगानी नगरेको कम्पनीले यस क्षेत्रमा प्रवेश गर्दै लगानीको दायरा विस्तार गरेको हो । त्यस्तै, कुल लगानीको करिब ७६ प्रतिशत मुद्दती निक्षेपमा रहेको छ । मुद्दती निक्षेपमध्ये करिब ८२ प्रतिशत लगानी इन्भेस्टमेन्ट ग्रेड रेटिङ प्राप्त संस्थामा रहेको छ भने करिब १३ प्रतिशत एए– वा सोभन्दा माथिको रेटिङ भएका संस्थामा केन्द्रित छ । बैंक तथा वित्तीय संस्थामा गरिएको लगानीसँगै उच्च ब्याजदर प्रदान गर्ने डिबेन्चर तथा पर्पेचुअल नन–क्युमुलेटिभ प्रिफरेन्स सेयर (पीएनसीपीएस) मा समेत लगानी विस्तार गरिएको छ । यस्ता उपकरणमा कम्पनीको लगानी हिस्सा मध्य जुलाई २०२६ सम्म करिब ६ प्रतिशत पुगेको छ ।
कम्पनीको व्यवसाय विस्तारमा नवीकरण बीमाशुल्क आम्दानीले महत्वपूर्ण आधार प्रदान गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा ३७ अर्ब २१ करोड रुपैयाँ रहेको नवीकरण बीमाशुल्क आम्दानी आर्थिक वर्ष २०८२/८३ मा बढेर ४० अर्ब ६० करोड रुपैयाँ पुगेको छ । त्यस्तै, कुल ग्रस प्रिमियम आम्दानी ४८ अर्ब २० करोड रुपैयाँबाट बढेर ५४ अर्ब ३ करोड रुपैयाँ पुगेको छ । कुल खुद बीमाशुल्क आम्दानीसमेत ४७ अर्ब ६९ करोड रुपैयाँबाट बढेर ५३ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । पहिलो वर्षको बीमाशुल्कमा हुने उतारचढावका बीच नवीकरण बीमाशुल्कको निरन्तर वृद्धिले कम्पनीको व्यवसायलाई स्थायित्व र प्रगतिशील गति प्रदान गरेको इक्रा नेपालको विश्लेषण छ ।
कम्पनीको बीमा व्यवसायमा एन्डोमेन्ट अर्थात् सावधिक जीवन बीमाले प्रमुख हिस्सा ओगटेको छ । आर्थिक वर्ष २०८२/८३ मा कम्पनीको कुल बीमाशुल्क आम्दानीको करिब ९८.८ प्रतिशत हिस्सा सावधिक जीवन बीमालेखबाट प्राप्त भएको छ । दीर्घकालीन प्रकृतिको यस्तो व्यवसायले कम्पनीको बीमा कोष विस्तार र बजार उपस्थितिलाई निरन्तरता दिन सहयोग पुर्याएको छ । कम्पनीको कुल जीवन बीमा कोष आर्थिक वर्ष २०८१/८२ मा २ खर्ब ३४ अर्ब ७५ करोड रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०८२/८३ मा बढेर २ खर्ब ७६ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, कुल लगानीसमेत २ खर्ब २८ अर्ब ४१ करोड रुपैयाँबाट बढेर २ खर्ब ८० अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । पछिल्लो तीन वर्षमा कम्पनीको सम्पत्ति आधार औसत वार्षिक करिब १७ प्रतिशतले विस्तार भएको छ ।
कम्पनीको सञ्चालन दक्षता पनि उल्लेखनीय रहेको छ । कुल ग्रस प्रिमियम आम्दानीको तुलनामा व्यवस्थापन खर्चको अनुपात आर्थिक वर्ष २०८१/८२ मा ६.३ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०८२/८३ मा घटेर ६.२ प्रतिशतमा झरेको छ । ठूलो व्यावसायिक आकार, स्थापित वितरण सञ्जाल र प्रभावकारी सञ्चालन व्यवस्थापनका कारण कम्पनीले आफ्नो सञ्चालन खर्चलाई नियन्त्रणमा राख्न सकेको प्रतिवेदनले देखाएको छ ।
जोखिम व्यवस्थापन र पुनर्बीमा सुरक्षालाई पनि नेपाल लाइफले प्राथमिकतामा राखेको छ । कम्पनीले नेपाल पुनर्बीमा कम्पनी लिमिटेड र हिमालयन रिइन्स्योरेन्स लिमिटेडसँग पुनर्बीमा व्यवस्था गरेको छ । नियमित जीवन बीमा, लघुबीमा तथा विपद्जन्य जोखिमका लागि आवश्यक पुनर्बीमा सुरक्षा कायम गरिएको छ । प्रतिवेदनअनुसार कम्पनीले प्रतिजीवन अधिकतम २० लाख रुपैयाँसम्मको जोखिम आफैँले बहन गर्ने व्यवस्था गरेको छ भने विपद्जन्य जोखिमका लागि ५५ करोड रुपैयाँको क्याटस्ट्रोफिक कभर उपलब्ध छ । यसका अतिरिक्त मध्य जुलाई २०२६ सम्म कम्पनीको विपद् कोषमा करिब १ अर्ब ५४ करोड ४० लाख रुपैयाँ सञ्चित रहेको छ । पर्याप्त पुनर्बीमा व्यवस्था र वित्तीय आधारले प्राकृतिक विपद्जस्ता असामान्य परिस्थितिबाट उत्पन्न हुन सक्ने दाबी भुक्तानी व्यवस्थापनमा थप सुरक्षा प्रदान गर्ने इक्रा नेपालको विश्लेषण छ ।
कम्पनीको समग्र व्यावसायिक उपलब्धि, वित्तीय सूचकमा आएको सुधार, लगानीको विविधीकरण, पर्याप्त सोल्भेन्सी अनुपात, नवीकरण बीमाशुल्कको निरन्तर वृद्धि र पुनर्बीमा व्यवस्थाले नेपाल लाइफको संस्थागत क्षमता थप बलियो बनेको देखिन्छ । अनुभवी व्यवस्थापन, देशव्यापी सेवा सञ्जाल र ठूलो बजार हिस्सासहित कम्पनीले जीवन बीमा क्षेत्रमा आफ्नो अग्रणी पहिचान कायम राखेको छ । सोहि कारण इक्रा नेपालको ‘एए’ रेटिङ दिएको छ ।











