विधि, प्रक्रिया र निष्पक्षताको धज्जी उडाउँदै बीमा प्राधिकरणको अध्यक्ष नियुक्ती अन्तिम चरणमा

काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदमा नियुक्ती प्रक्रिया अघि बढाएको छ । स्रोतका अनुसार बीमा प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन माग गरेको पाँच महिनापछि नयाँ अध्यक्ष नियुक्ती प्रक्रिया अन्तिम चरणमा पुग्न लागेको छ । सम्भवतः अब छिट्टै नयाँ अध्यक्ष नियुक्ती हुनेछन् ।
सुशासन, पारदर्शिता र निष्पक्षतासँग कुनै सम्झौता नगर्ने भनेर कसम खाएको रास्वपा नेतृत्वको सरकारले मिति २०८३ जेठ १३ गते आवेदन माग गरेपछि कति जनाको आवेदन परेको हो ? को को आवेदकहरु हुन भन्ने सूचि समेत सार्वजनिक नगरी गोप्य राख्दै आएको छ । ७ दिने सूचनाको अन्तिम दिन जम्मा ५० जनाको आवेदन परेको भनिएको अनौपचारिक जानकारीसम्म दिइएको भएपनि सो बाहेक कुनै जानकारी दिइएको छैन ।
बीमा प्राधिकरण जस्तो सार्वजनिक निकाय, वित्तीय क्षेत्रको नियामनकारी निकायको अध्यक्ष पदमा नियुक्ती गर्दा सबै विवरणहरु गोप्य राखिएको छ । यसअघि भ्रष्ट सरकार भनेर चिनिएको केपी ओलीले कर्मकाण्डी भएपनि प्रस्तुतिकरण समेत गराएर, छनौट समितिले गरेको उत्कृष्ट सिफारिसको आधारमा नियुक्ती गर्ने गरेका थिए । अहिलेको नयाँ सरकारले झनै गोप्य रुपमा नियुक्ती गर्ने कार्य बीमा ऐन २०७९ को मर्म र भावना विपरित मात्रै छैन, मुद्दा परेको अवस्थामा कामै गर्न नपाई अलपत्र पर्नसक्ने जोखिम समेत उक्तिकै छ । स्मरणरहोस्, यसअघिका अध्यक्षको नियुक्ती योग्यता लगायतका बिषयमा सर्वोच्च मुद्दा परेपछि अलपत्र अवस्थामै छ ।
स्रोतका अनुसार अर्थमन्त्रालयले स्वतन्त्रपूर्वक यसअघि नै कार्यविधि अनुसार सर्टलिष्ट बनाई प्रस्तुतिकरण वा परिक्षा लिएर नयाँ अध्यक्ष नियुक्ती गर्न लागेको होइन । प्रधानमन्त्री कार्यालयको दवावमा आवेदन माग गरेको पाँच महिनापछि नयाँ अध्यक्ष नियुक्ती प्रक्रियामा समेत सामेल नगरी तजबिजी अधिकारको प्रयोग गरेर गर्नका लागि अन्तिम चरणमा पुर्याइएको बुझिएको छ । सो सम्बन्धमा जिज्ञाशा राख्दा अर्थमन्त्रालयका प्रबक्ता अमृत लम्सालले कुनै प्रतिक्रिया दिएनन् ।











