पहिलो त्रैमाससम्ममा वाणिज्य बैंकको नाफा १९ अर्बः ९ बैंक अर्ब क्लबमा, अन्यको कमाइ कति ?

१५ कार्तिक २०८३, आईतवार ०८:५५

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा सञ्चालनमा रहेका २० वाणिज्य बैंकले १९ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेका छन् । बैंकहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार साउनदेखि असोज मसान्तसम्ममा बैंकहरूले कुल १९ अर्ब १४ करोड ५४ लाख ७३ हजार रुपैयाँ नाफा कमाएका हुन् । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५.५९ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा वाणिज्य बैंकहरूले १३ अर्ब १४ करोड ९८ लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । समीक्षा अवधिमा अधिकांश बैंकको नाफा बढ्दा समग्र बैंकिङ क्षेत्रको वित्तीय नतिजा उत्साहजनक देखिएको छ ।

सर्वाधिक नाफा कमाउने बैंकको सूचीमा नबिल बैंक पहिलो स्थानमा रहेको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २ अर्ब ५५ करोड ५१ लाख ५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ७५ करोड ६९ लाख ९१ हजार रुपैयाँ नाफा कमाएको थियो । यससँगै नबिल बैंकको नाफा ४५.४३ प्रतिशतले बढेको छ ।

त्यस्तै, ग्लोबल आइएमई बैंक दोस्रो स्थानमा रहेको छ । बैंकले समीक्षा अवधिमा २ अर्ब ३१ करोड ३८ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा १ अर्ब ८५ करोड ८६ लाख ५० हजार रुपैयाँ रहेको नाफा यस वर्ष २४.४९ प्रतिशतले बढेको हो ।

राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ६४ करोड ९६ लाख ३७ हजार रुपैयाँ नाफा आर्जन गर्दै तेस्रो स्थान सुरक्षित गरेको छ । गत वर्षको पहिलो त्रैमासमा ५९ करोड ८७ लाख ३३ हजार रुपैयाँ नाफा कमाएको बैंकको नाफा यस वर्ष १७५.५२ प्रतिशतले वृद्धि भएको छ ।

चौथो स्थानमा रहेको एभरेस्ट बैंकले १ अर्ब २५ करोड २७ लाख १९ हजार रुपैयाँ नाफा कमाएको छ । गत वर्षको १ अर्ब १७ करोड ९२ लाख ७४ हजार रुपैयाँको तुलनामा बैंकको नाफा ६.२३ प्रतिशतले बढेको हो । त्यस्तै, प्राइम कमर्सियल बैंकले १ अर्ब १८ करोड ७६ लाख ५७ हजार रुपैयाँ नाफा कमाएको छ । यद्यपि, गत वर्षको १ अर्ब २५ करोड ८४ लाख ३० हजार रुपैयाँको तुलनामा बैंकको नाफा ५.६२ प्रतिशतले घटेको छ ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले १ अर्ब १८ करोड १४ लाख २१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड ५० लाख ५० हजार रुपैयाँ मात्रै नाफा कमाएको बैंकले यस वर्ष नाफा २५ गुणाभन्दा बढीले बढाएको छ । प्रतिशतका आधारमा बैंकको नाफा वृद्धिदर २ हजार ५२२.४७ प्रतिशत पुगेको छ । नाफा वृद्धिदरका हिसाबले बैंक सबैभन्दा अगाडि देखिएको छ ।

त्यसैगरी, एनएमबी बैंकले १ अर्ब १६ करोड ४२ लाख ८२ हजार रुपैयाँ नाफा कमाउँदै २७.११ प्रतिशतको वृद्धि हासिल गरेको छ भने कुमारी बैंकले १ अर्ब ७ करोड ४५ लाख ५ हजार रुपैयाँ नाफा कमाएको छ ।

सानिमा बैंकले १ अर्ब ५ करोड १४ लाख ६८ हजार रुपैयाँ, सिद्धार्थ बैंकले ८५ करोड १५ लाख ६५ हजार रुपैयाँ, नेपाल बैंकले ८३ करोड २१ लाख ८७ हजार रुपैयाँ, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ६७ करोड १४ लाख ४४ हजार रुपैयाँ, हिमालयन बैंकले ६५ करोड ४८ लाख ३१ हजार रुपैयाँ,  लक्ष्मी सनराइज बैंकले ६५ करोड ३३ लाख ८५ हजार रुपैयाँ, प्रभु बैंकले ६० करोड ३७ लाख २१ हजार रुपैयाँ र नेपाल एसबिआई बैंकले ५५ करोड २२ लाख १५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

माछापुच्छ्रे बैंकले ५५ करोड ११ लाख ५१ हजार रुपैयाँ नाफा कमाएको छ भने एनआइसी एसिया बैंकले १२ करोड ७४ लाख ४२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

कृषि विकास बैंकले १० करोड ९२ लाख ३५ हजार रुपैयाँ नाफा कमाएको छ ।

यसैगरी, सिटिजन्स बैंकले गत वर्षको पहिलो त्रैमासमा २२ करोड ४ लाख ११ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा १० करोड ७७ लाख ३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यससँगै बैंक घाटाबाट नाफामा फर्किएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*