एमाले अध्यक्ष केपी ओली पक्राउ पर्ने ३ कारण

२४ फाल्गुन २०८२, आईतवार १५:३५

काठमाडौं । गत भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनको घटनाको सम्बन्धमा सरकारले गठन गरेको छानविन आयोगले आज आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ । सो प्रतिवेदनले केही पदाधिकारीहरुलाई कारवाही गर्न सिफरिस समेत गरेको आयोगका सदस्य विज्ञानराज शर्माले सञ्चारकर्मीहरुलाई जानकारी गराएका छन् ।

गत भदौं २३ र २४ गतेको घटनामा तत्कालिन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओली शर्मा पक्राउ नै गरेर कानुनी कारवाही गर्नुपर्ने माग उतिबेला नै उठेको थियो । तर, प्रधानमन्त्री शुसिला कार्कीले निर्वाचन अघि पक्राउ गरेर कारवाही गर्न निर्वाचन नै बिथोलिन सक्ने जोखिमका कारण आयोगको प्रतिवेदनपछि मात्रै कारवाही गर्ने निर्णय लिएकी थिईन् ।

क) चेन अफ कमाण्ड हेड हुनुको सम्बन्ध र उत्तरदायित्वको आधारमा

प्रधानमन्त्री नेपालको कार्यकारी अधिकार सम्पन्न पद हो । सो पदमा बहाल रहेको व्यक्तिले बहाल रहँदासम्म देशभित्रको कुनै पनि घटनाको जिम्मेवारी नलिने भनेर पन्छिन मिल्दैन । मातहतका निकायमा अधिकार प्रत्यायोजन भएको घटनाको बिषयमा मातहतका निकायबाट भएको कुन पनि गल्ती वा कमजोरीहरु छन् भने घट्ना घटे लगत्तै उक्त कार्यमा संलग्न व्यक्ति वा पदाधिकारीलाई कारवाही गरेर सच्याउने दायित्व प्रधानमन्त्रीको हुन्छ ।
जेनजी आन्दोलनमा नेपाल प्रहरीबाट चलाइएको गोलीबाट करिब ४६ जनाको ज्यान गएको छ । यति धेरै मानिसको ज्यान जाने गरी भएको घटनामा मातहतका निकायमा कार्यरत पदाधिकारीहरु त दोषी छन् नै प्रधानमन्त्री समेत दोषी छैनन् भनेर भन्न मिल्दैन । भदौं २३ गतेको दिन प्रहरीले सयौं राउण्ड गोली चलाएका छन् । प्रहरीको गोलीबाट ४२१ जना मानिसहरु घाइते भएको घटनामा प्रहरीकै प्रत्यक्ष संलग्नतामा गोली चलाउन आदेश दिइएको होइन भनेर भन्न सकिने आधारहरु छैनन् ।

जुनसुकै निकायबाट होस जनताको हत्या भइरहेको छ भनेर थाहा पाएपछि सो कार्य तत्काल रोक्ने दायित्व प्रधानमन्त्रीकै हो । अपरान्ह १२ बजेपछि लगातार गोली चलिरहेको र विद्यालय पोशाकमा रहेका विद्यार्थीहरु मरिरहेको घटना विभिन्न सञ्चार माध्यमहरुमा प्रत्यक्ष प्रशारण समेत भइरहेको थियो । बीमापोष्टकै फेसबुक पेजबाट समेत प्रत्यक्ष प्रशारण भइरहका थिए । सयौं फेसबुक, टिकटकहरुबाट प्रत्यक्ष प्रशारण भएको सो घटनामा प्रधानमन्त्रीले थाहा पाएको थिईन भनेर उम्किन मिल्दैन ।

अतः आफ्ना सुरक्षाकर्मीबाट भइरहेको दमन रोक्ने पक्षमा केपी ओलीले कुनै आदेश, निर्देशन जारी नगर्नुले प्रधानमन्त्री ओली दमन गरेरै भएपनि सत्ता टिकाउनु पर्छ भनेर दृढ देखिएका थिए । सोही कारण पनि तत्कालिन प्रधानमन्त्री ओलीले जानाजान गोली चलाएर घटना गराएको तथ्य आम जनताको नजरबाट छिपेको देखिदैन । सोही कारण निजलाई पक्राउ गरी कानुनी कारवाही गर्नुपर्दछ ।

ख) जनता मारेर सत्ता टिकाउने प्रयास गर्नु

राजनीतिमा सत्तामा पुगिन्छ र जनताले गर्ने आन्दोलनबाट किनारा लाग्नुपर्ने पनि हुनसक्छ । जनता मारेर सत्तामा टिक्नु तानाशाही शासन व्यवस्था हुन्छ । प्रजातन्त्रमा निशस्त्र जनताले गर्ने विरोधमा दमन गरी गोली ठोकेर कुर्सीको रक्षा गर्ने भन्ने हुँदैन । २०६२।०६३ को जनआन्दोलनमा तत्कालिन राजा ज्ञानेन्द्र शाहले ओलीले जसरी मानिसको हत्या गरेर सत्तामा टिक्न चाहेको भए सक्थे । राजतन्त्र अहिलेसम्म जीवित रहन पनि सक्दथ्यो ।

तर, राजाले जनता मार्दिन बरु श्रीपेच जनतालाई नै सुम्पिन्छु भनेर पछाडि हटे । भदौं २४ गते विहान ११ बजेसम्म तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली दमन गरेरै भएपनि सत्तामा कुर्सी जोगाउने ध्यान्नमा थिए । २३ गते जम्मा १९ जनाको ज्यान गएको भनिएकोमा २४ गते पनि प्रहरीलाई दमन गरेर गोली बर्षाएरै भएपनि आन्दोलन नियन्त्रणमा लिनु भनेर आदेश दिए । जसको परिणाम थप मानिसहरुको ज्यान गयो । यदि बालुवाटारमै जनताले आक्रमण गरेर नलखेटेको भए प्रहरी, सशस्त्र प्रहरी लगाएर सयौं हजारौं मानिसको हत्या गर्नु भन्ने आदेश केपी ओलीबाट नहुने भनेर भन्न सकिने अवस्था थिएन।

जनताले बालुवाटारमै आक्रमण गरेर भाग्न बाध्य भएकोले मात्रै ७६ जनाको बलिदान र करिब एक हजार जना घाइते भएर घटना टरेको हो । उनले सकेको भए थप सयौंको बलिदान र हजारौंलाई घाइते बनाएरै भएपनि सत्ता टिकाउने प्रयास गरेको देखिन्छ। अतः अघिल्लो दिन १९ जनाको ज्यान गइसकेपछि नैतिकताको आधारमा राजिनामा दिएर प्रधानमन्त्री पदका लागि थप नागरिकको हत्या गर्ने उद्यत रहेकोले पनि ओलीलाई तत्कालै पक्राउ गरी कानुनी कठघरामा उभ्याएर कानुनी राज्यको पालना गर्नुपर्दछ ।

ग) मानव अधिकारको गम्भिर उल्लंघनमा दोषी

मुलुकको कार्यकारी प्रधानमन्त्री पदमा आसिन रहेका केपी शर्मा ओलीले भदौं २३ र २४ गतेका दुई फरक फरक घटनामा मानव अधिकारको गम्भिर उल्लंघन समेत गरेका छन् । २१ औं शताब्दीमा र लोकतान्त्रिक शासन व्यवस्थाको खिल्ली उडाउँदै आफ्नो कुर्सी रक्षाको लागि मानव अधिकारको गम्भिर उल्लंघन गरेका छन् ।

भदौं २३ गते राज्यका निकायबाट भएको गम्भिर मानव अधिकार उल्लंघनको घटनाको छानविन नगरी, अभियुक्तहरुलाई उल्टै जनदमन गर्न २४ गते समेत आदेश र हौसला दुवै दिई गम्भिर मानव अधिकार उल्लंघन मात्रै गरेका छैनन, जनदमन र आततायी घटनाका मुख्य अभियुक्त समेत हुन् । सूचनामा जनताको पहुँच हुनुपर्ने बिषयमा मानव अधिकारको गम्भिर उल्लंघन गरे भने अर्को निशस्त्र विरोध गर्ने जनताको मानव अधिकार प्रदत्त अधिकार कुण्ठित गर्दै क्रूर र तानाशाही शैलीको दमन गरेकोले केपी ओलीलालाई तत्कालै पक्राउ गरेर कानुन बमोजिम कारवाही गर्नुपर्दछ ।

उल्लेखित कारणहरु बाहेक भदौं २४ गते विहान एमाले समर्थित युवा संघका केटाहरुलाई भेला पारेर जेनजीको प्रतिरोध गर्नु भन्ने आदेश दिएर देशभित्र आतंक र दुई वटा समुहका बीचमा भिडन्त हुने अवस्था सिर्जना गरेर देशमा भयानक द्वन्द निम्त्याउन प्रयास गरेका कुराहरु पनि बाहिर आएका छन् । उक्त बिषयमा छानविन समितिको प्रतिवेदनमा सम्भवतः औल्याइएको हुनुपर्छ ।

तस्बिरः छानबिन आयोगको प्रतिवेदन बुझेपछि प्रधानमन्त्री शुशिला कार्की

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*