वैशाख २४ गतेदेखि सानिमा इक्वीटी फण्ड–२ को इकाई बिक्री गरिने

काठमाडौं । सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना सानिमा इक्वीटी फण्ड–२ का इकाईहरू सार्वजनिक बिक्रीका लागि खुला गरिने भएको छ।
यस योजनामा प्रति इकाई १० रुपैयाँ दरका कुल १० करोड इकाई निष्काशन गरिनेछ। कुल निष्काशनमध्ये कोष प्रवद्र्धक सानिमा बैंक लिमिटेडलाई १३ प्रतिशत अर्थात १ करोड ३० लाख इकाई तथा योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडलाई २ प्रतिशत अर्थात २० लाख इकाई सुरक्षित गरिएको छ। बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्रीमा ल्याइनेछ।
नेपाल धितोपत्र बोर्डबाट वैशाख ३ गते योजना सञ्चालन तथा विवरण पुस्तिका स्वीकृत भइसकेको छ। इकाई बिक्री वैशाख २४ गतेबाट खुल्नेछ। निष्काशन बन्द छिटोमा वैशाख २९ गते हुने व्यवस्था रहेको छ भने पर्याप्त आवेदन नपरेमा जेठ ७ गतेसम्म खुला रहनेछ।
लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सक्नेछन्। योजनामा न्यूनतम ५ करोड इकाई बिक्री हुनुपर्ने व्यवस्था गरिएको छ। साथै माग बढी भएमा सामूहिक लगानी कोष निर्देशिका अनुसार अधिकतम १२ करोड ५० लाख इकाईसम्म बाँडफाँड गर्न सकिनेछ।
यस योजनाको अवधि १० वर्षको हुनेछ। अवधि पूरा भएपछि योजनाको सम्पत्ति नगदमा परिणत गरी कानुनअनुसार इकाईधनीलाई समानुपातिक रूपमा वितरण गरिनेछ।
लगानीकर्ताले सि–आस्वा प्रणालीमार्फत अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था तथा ‘मेरो सेयर’ अनलाइन प्लेटफर्म प्रयोग गरी आवेदन दिन सक्नेछन्। इकाई बाँडफाँडपछि नेपाल स्टक एक्सचेन्जमा सूचीकृत गरी दोस्रो बजारमा कारोबार खुला गरिने व्यवस्था गरिएको छ।











