दोस्रो पटक सार्वजनिक यातायातको भाडा बढाउने सरकारको निर्णय, सर्वसाधारण परे महङ्गीको मारमा

१६ बैशाख २०८३, बुधबार १२:०४

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडादरमा पुनः वृद्धि गरेको छ । यातायात व्यवस्था विभागका अनुसार मन्त्रीस्तरीय निर्णयबाट अन्तरप्रदेश सञ्चालन हुने यात्रुवाहक तथा ढुवानीका सवारीसाधनमा ५ प्रतिशतले भाडा बढाइएको हो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालको निर्देशन तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सैद्धान्तिक सहमतिमा नयाँ भाडादर लागू गरिएको विभागले जनाएको छ ।

विभागका अनुसार भाडा समायोजनको मुख्य आधार इन्धन मूल्यमा भएको वृद्धि हो । यसअघि भाडा निर्धारण गर्दा डिजेलको औसत बजार मूल्य प्रतिलिटर १८० रुपैयाँ ८३ पैसा रहेकोमा हाल ५५ रुपैयाँले बढेर २३५ रुपैयाँ ८३ पैसा पुगेको छ । यसले इन्धन मूल्यमा ३०.४१ प्रतिशतको वृद्धि देखाएको छ ।

यसअघि गत चैत २५ गते सरकारले १३ वटा सूचकका आधारमा यात्रुवाहक सवारीमा १६.७१ प्रतिशत र मालवाहक सवारीमा क्षेत्रअनुसार २१.६८ प्रतिशतसम्म भाडा वृद्धि गरेको थियो । त्यसयता डिजेलको मूल्यमा निरन्तर वृद्धि भएपछि यातायात व्यवसायीहरूले पुनः भाडा समायोजन गर्न दबाब दिँदै आएका थिए ।

व्यवसायीको माग र बजार अवस्थाको विश्लेषण गर्दै विभागले वैशाख ९ गते यात्रुवाहक सवारीका लागि ९.८ प्रतिशत र ढुवानीका लागि १२ देखि १४ प्रतिशतसम्म भाडा वृद्धि गर्न सिफारिस गरेको थियो । तर मन्त्री लम्सालले ५ प्रतिशत मात्र वृद्धि गर्ने निर्णय स्वीकृत गरेका हुन् ।

भाडादर वृद्धि भएसँगै सर्वसाधारणको दैनिक जीवन झन् कष्टकर बन्दै गएको छ । एकातिर खाद्यान्न तथा अत्यावश्यक वस्तुहरूको मूल्य निरन्तर बढ्दै जाँदा भान्सा महँगो भइरहेको छ भने अर्कोतिर यातायात भाडा वृद्धि हुँदा आवतजावतसमेत महँगो बनेको छ । आयको स्तर स्थिर वा न्यून वृद्धि भइरहेको अवस्थामा खर्चको भार तीव्र रूपमा बढ्दा मध्यम तथा न्यून आय भएका वर्ग सबैभन्दा बढी प्रभावित भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*