इतिहासमै पहिलो पटक पेट्रोलभन्दा डिजेल महंगो, सरकारको नियतमै खोट !

७ बैशाख २०८३, सोमबार १०:१२

काठमाडौं । जेनजी पुस्ताको प्रतिनिधित्व गर्दै बनेको नयाँ सरकारको आधारभूत सोचमै खोट देखिन थालेको छ । नेपालको इतिहासमा सम्भवतः पहिलो पटक धनी वर्गले प्रयोग गर्ने पेट्रोलभन्दा गरीब वर्गले धेरै प्रयोग गर्ने डिजेलको मूल्य महंगो भएको छ । इन्धनको मूल्यमा बालेन सरकारले गरीब मारा नीति लिएकोले सरकारको नेतृत्वमा बस्नेहरूमा गम्भीर खोट देखिएको हो ।

अहिले इन्धनको मूल्यसूची अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २१९ रुपैयाँ रहेको छ भने डिजेलको मूल्य प्रतिलिटर २३७ रुपैयाँ निर्धारण गरिएको छ । नेपालको इतिहासमा पहिलो पटक पेट्रोलको मूल्यको तुलनामा डिजेलको मूल्य प्रतिलिटर १८ रुपैयाँले बढी असूल गर्ने निर्णय गरिएको छ । यसअघि डिजेल र पेट्रोलको मूल्य समान बनाएको इतिहास भएपनि डिजेलको मूल्य बढी भने बनाइएको थिएन । बालेन नेतृत्वको नयाँ सरकार आएपछि नाफा घाटाको हिसाब हेर्दा जनताविरोधी निर्णय हुन पुगेको छ ।

वर्तमान सरकारले देश र जनतालाई नबुझी माफिया र बिचौलियाको कुरा सुन्दै डिजेलमा धेरै घाटा रहेको भन्दै यही वैशाख २ गते प्रतिलिटर ३० रुपैयाँ मूल्य वृद्धि गरेर २०७ बाट २३७ पुर्याउने निर्णय गरेको थियो ।

नेपाल आयल निगमका पूर्व प्रबन्ध निर्देशक दिगम्वर झाले आफ्ना पालामा कहिल्यै पनि पेट्रोलभन्दा डिजेल महंगो हुन नदिएको स्मरण गर्दै २०६४ सालदेखि यता डिजेलभन्दा पेट्रोल सस्तो नभएको बताए । जनपक्षीय सरकारले आम जनता र गरीबहरूले यात्रा गर्ने सार्वजनिक यातायात, ढुवानीका साधनमा प्रयोग हुने डिजेल सरकारले नै सस्तो बनाउँदै आएको थियो ।
बालेन नेतृत्वको सरकारले जनता र देशको अवस्था नहेरी हचुवाको भरमा आयल निगमका प्रबन्ध निर्देशक चण्डिका प्रसाद भट्टलाई विश्वास गर्दा जनघाती निर्णयमा सरकार चुक्न पुगेको छ ।

‘डिजेल पब्लिक ट्रान्सपोर्टहरूमा बढी प्रयोग हुने भएकोले डिजेलमा कर कम हुन्छ । डिजेल सस्तो गरिएको हो । पेट्रोल भनेको निजी गाडीहरूमा प्रयोग हुने गरेको छ । गाडी प्रयोग गर्नेहरू अलिकति धनी हुन्छन् ।’ पूर्व प्रबन्ध निर्देशक झाले डिजेल र पेट्रोलको मूल्यबारे बीमापोष्टसँग भने ।

सार्वजनिक यातायातको रूपमा आम जनताले प्रयोग गर्ने तथा ढुवानीका कारण समग्र देशको अर्थतन्त्र नै तलमाथि पर्न सक्ने भएकोले डिजेलको मूल्य नियन्त्रित राखिएको हुन्छ । सोही कारण ऊर्जा अन्तर्गत इन्धनलाई एकाधिकार कारोबार गर्न निगमलाई दिइएको उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जन बताउँछन् ।

राष्ट्रिय उपभोक्ता मञ्च नेपालका अध्यक्ष प्रेमलाल महर्जन पेट्रोलभन्दा डिजेल महंगो बनाएर सरकारले उपभोक्तामारा नीति लिएको आरोप लगाए । अध्यक्ष महर्जनले भने, ‘नेपाल आयल निगमले अदूरदर्शी र उपभोक्तामारा निर्णय गरेको छ । यो निर्णय अत्यन्तै आपत्तिजनक छ । कृषि क्षेत्रमा, औद्योगिक क्षेत्रमा नकारात्मक असर परेको छ । यसले समग्र मूल्यवृद्धि सूचांकलाई नै हलचल बनाउँछ । पपुलरको आडमा गरिएको मूल्यवृद्धि तत्काल सुधार गर्न सकेन भने बालेन सरकार बदनाम हुन्छ । उपभोक्तामाथि अत्याचार गरेको आरोप खेप्नु पर्नेछ ।’

अध्यक्ष महर्जनले नेपाल आयल निगमले घाटा बढेको भनेर अरण्यरोदन देखाई जनतालाई लूट्ने योजना बनाएको आरोप समेत लगाए । मूल्यमा जथाभावी गर्ने छुट आयल निगमलाई दिने कार्यमा आपूर्ति मन्त्रालय जिम्मेवारी रहेको उपभोक्ता अधिकारकर्मीहरूले बुझेका छन् । अध्यक्ष महर्जनले भने, ‘हामीले यसरी नै जथाभावी गर्लान् भनेर २०७१ सालदेखि अटोमेशनमा गएका थियौं । पेट्रोलको छुट्टै, डिजेल र मट्टितेलको मूल्य एउटै मूल्य गरेर मिसावट रोक्ने व्यवस्था मिलाएका थियौं । जनताको ढाड सेकिन्छ भनेर डिजेल र मट्टितेलको मूल्य घटाउन लगाएका थियौं । किसान, सर्वसाधारणलाई यातायातमा मर्का पर्ने भएर त्यसो गरिएको थियो । सबै कार्यमा म पनि आफैं संलग्न भएर काम गरेका थियौं । उपभोक्ताको हितमा काम गरेका थियौं ।’

आम जनतालाई शोषण गरेर र धनी जनतालाई राहत दिने सोचबाट ग्रसित हुन थालेपछि नेपालबाट विश्वभर चर्चा कमाइरहेका बालेन सरकारकै सोचभित्र खोट देखिन पुगेको छ । न्यूयोर्क टाईम्सदेखि लण्डनको बीबीसी समेतमा व्यापक चर्चा र परिचर्चा कमाएका व्यक्ति बालेन्द्र शाह यतिबेला रास्वपाको तर्फंबाट प्रधानमन्त्री छन् । तर निर्णयहरू जनताको हित विपरीत र उपभोक्ताको हितमा परम्परागत प्रणालीलाई भत्काउन थालेपछि अब प्रश्न उठ्न थालेको छ–के सरकारको नियत सफा र जनपक्षीय छ ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*