प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सलाई दिइएको लाइसेन्स नै गैर कानुनी, छानविन भए हुनसक्छ लाइसेन्स नै खारेज

काठमाडौं । प्रोटेक्टिभ माईक्रो इन्स्योरेन्स कम्पनीले गैरकानुनी रुपमा लाईसेन्स लिएको पाइएको छ । फर्जी र झुठा कागजात पेश गरेर प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले लघु बीमाको लाइसेन्स लिएकोले छानविन भएको अवस्थामा खारेज हुने सम्भावना प्रबल छ । बीमा ऐनले झुठा र फर्जी कागजात पेश गरी लाइसेन्स लिएको अवस्थामा उक्त कम्पनीको लाइसेन्स नै खारेज हुने व्यवस्था गरेको छ ।
कम्पनीले घुस सेटिङ्गमा प्रकृया पूरा नगरी फर्जी कागजात पेश गरी गैरकानुनी रुपमा लाइसेन्स लिएको पाइएको हो । कम्पनीले बीमा प्राधिकरणका तत्कालिन अध्यक्ष सूर्य प्रसाद सिलवालसँग घुस सेटिङगमा गैरकानुनी रुपमा लाइसेन्स लिएको पाइएको छ।
२०८० साल साउन साउन ११ गते प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सलाई तत्कालिन अध्यक्ष सूर्य प्रसाद सिलवालले फर्जी कागजातको बिषयमा बाहिर सन्देश जाने डरले हतारमा एउटा बीमा योजना जारी गर्दै औपचारिक रुपमा शुभारम्भ गर्न अनुमति दिएको थियो ।
कम्पनीको उद्घाटन नेपाल बीमा प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक राजुरमण पौडेलले गरेका थिए ।सुदुरश्चिम प्रदेशको धनगढीमा केन्द्रीय कार्यालय रहेको प्रोटेक्टिभ माइक्रोे अध्यक्षमा दिनेश सरही रहेका छन् भने कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नरेश कुमार रोक्का रहेका छन्।
कम्पनीमा २४ व्यक्ति तथा संस्थाको संस्थापक शेयर ५० हजार कित्ता बढी छ। मेट्रो क्यापिटल प्राइभेट लिमिटेडको सबैभन्दा धेरै यो कम्पनीमा शेयर छ। कम्पनीमा यो क्यापिटलको ११ लाख १४ हजार ५०० कित्ता शेयर रहेको छ। मेट्रोमा मृदुला सरिया संचालक छिन्।
त्यस्तै रुद्र फिनक्रपको ११ लाख कित्ता, केएल दुगड समूहका प्रबन्ध निर्देशक कुमुदकुमार दुगडको ३ लाख ५० हजार कित्ता, केआरएस इन्भेष्टमेन्टको ३ लाख ५० हजार कित्ता, श्रद्धा अग्रवालको २ लाख ३७ हजार ५०० कित्ता, संगीतादेवी मोरको २ लाख ८ हजार ५०० कित्ता संस्थापक शेयर छ।
कम्पनीमा अनुपम राठीको संस्थापक शेयर १ लाख ७५ हजार, कल्याणी इन्भेष्टमेन्ट प्रालिको १ लाख ६८ हजार, सुमन मोर र बिना मोरको १ लाख ५२ हजार कित्ता संस्थापक सेयर छ। यस्तै राजेश हार्डवेयर, एक्सपर्ट हाउजिङ, अम्बे समूहका अध्यक्ष शोभाकर न्यौपाने र आरएमसी कन्ट्रक्सनको शेयर स्वामित्व १-१ लाख कित्ता छ।
त्यसैगरी इक्विटी हाउजिङ एण्ड इन्भेष्टमेन्टको ६२ हजार ५०० कित्ता, शिवम् सिमेन्टका संस्थापक अध्यक्ष विश्वनाथ गोयल, बालाजी मार्बल, महेशकुमार अग्रवाल, आशिषकुमार गोयल, ग्रीन अर्थ इन्भेष्टमेन्ट, गौरव गोयल, मिनोल्टा इन्भेष्टमेन्ट, विजयसिंह वैद्य र जीवनकुमार अग्रवालको ५०÷५० हजार कित्ता संस्थापक शेयर यो कम्पनीमा छ।











