भन्सार छुटाएर काठमाडौं ल्याउँदै गरेको अनटेष्ट बिवाईडी अटो २ सिमराको सडकमै पड्कियो

३ जेष्ठ २०८३, आईतवार १२:२६

काठमाडौँ । नेपाल भित्र्याएर शोरुमतर्फ लैजाँदै गरिएको बीवाईडीको नयाँ विद्युतीय (ईभी) गाडी बीच सडकमै पड्किएको छ । भन्सार पास गरेर भर्खरै सडकमा गुडिरहेको बिवाईडीको ‘अट्टो २’ बाराको सिमरा सडकमै पड्किएर क्षतिग्रस्त बनेको हो ।

सिमरा क्षेत्रमा गुडिरहेको अवस्थामा गाडीको अगाडिको भाग अचानक पड्किएर क्षतिग्रस्त बनेको भिडियो सार्वजनिक भएको छ । गाडी शोरुमसम्म समेत पुग्न नपाउँदै सडकमा रोकिन पुगेको हो । सार्वजनिक भिडियोमा गाडीको अगाडिको भाग क्षतिग्रस्त देखिन्छ । घटनास्थलमा उपस्थित व्यक्तिहरूका अनुसार गाडी सामान्य गतिमा गुडिरहेको बेला एक्कासि अगाडिको भागमा पड्किएको थियो । कुनै मानवीय क्षति नभएको भए पनि नयाँ बिवाईडी गाडी नै यसरी क्षतिग्रस्त बनेपछि धेरै उपभोक्ताले गाडीको सुरक्षा र गुणस्तरमाथि प्रश्न उठाउन थालेका छन् ।

चीनबाट उत्पादन भएर भारतको वीरगञ्ज नाका हुँदै नेपाल ल्याइएको उक्त गाडी नेपाल भित्रिएलगत्तै यस्तो अवस्थामा पुगेको हो । विशेषगरी पछिल्ला केही वर्षमा नेपाली बजारमा ईभी गाडीको आकर्षण तीव्र रूपमा बढिरहेका बेला नयाँ गाडीमै समस्या देखिनुले धेरैलाई झस्काएको छ ।
नेपालमा बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंक हो । कम्पनीले सन् २०१७ आसपासदेखि नेपाली बजारमा बीवाईडीका विद्युतीय गाडी बिक्री सुरु गरेको थियो । सुरुवाती चरणमा बीवाईडीलाई किफायती र आधुनिक प्रविधियुक्त विद्युतीय गाडीका रूपमा प्रस्तुत गरिएको थियो । तर पछिल्लो समय सामाजिक सञ्जाल र बजारमा कम्पनीको गुणस्तर तथा बिक्रीपछिको सेवामाथि आलोचना बढ्दै गएको देखिन्छ । केही उपभोक्ताले स्पेयर पाट्र्स, प्राविधिक सेवा र लामो समयपछि देखिने समस्याबारे गुनासो गर्ने गरेका छन् ।

उत्पादन त्रुटि, ब्याट्री समस्या, ब्रेकिङ सिस्टममा कमजोरी र सुरक्षा फिचरको कमीबीच बीवाईडी गाडीमा गुणस्तरको प्रश्न उठ्दै आइरहेको छ । विश्व बजारमा पनि विभिन्न बीवाईडीले समय–समयमा आफ्ना सवारीसाधन रिकल गर्ने गरेका उदाहरण छन् । सुरक्षासम्बन्धी समस्या, सफ्टवेयर त्रुटि वा प्राविधिक कमजोरीका कारण लाखौं गाडी फिर्ता बोलाइएका घटनाहरू सार्वजनिक हुने गरेका छन् ।

सिमरामा देखिएको पछिल्लो घटनाले धेरैलाई पुनः सोच्न बाध्य बनाएको छ । अहिले सामाजिक सञ्जालमा ‘गाडी सुरक्षित हो कि होइन ?’, ‘गुणस्तर परीक्षण पर्याप्त हुन्छ कि हुँदैन ?’ र ‘नेपाल ल्याइने गाडीको प्राविधिक जाँच कत्तिको प्रभावकारी छ ?’ भन्ने प्रश्नहरू उठिरहेका छन् । यस सम्बन्धमा साइमेक्स इन्क (बिवाईडी) का प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठसँग सम्पर्क गर्न खोज्दा उनी सम्पर्क नै आउन चाहेनन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*