सेती नदी आयोजनाको प्रदर्शन आधारमा भिजन लुम्बिनी उर्जाको रेटिङ यथावत्, ४ अर्ब ४० करोड दायित्वमा पुनर्मूल्याङ्कन

७ जेष्ठ २०८३, बिहीबार १२:४०

काठमाडौँ ।  इक्रा नेपालले भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको दीर्घकालीन ऋणतर्फको रेटिङ इक्रा एनपी एलबीबी तथा अल्पकालीन ऋणतर्फको रेटिङ इक्रा एनपी ए फोर पुनः यथावत् राखेको छ। यसअघि मूल्याङ्कन गरिएको कुल दायित्व ४ अर्ब ४० करोड रुपैयाँमध्ये दीर्घकालीन कर्जातर्फ ४ अर्ब ३० करोड रुपैयाँ तथा अल्पकालीन कर्जा सीमा १ अर्ब रुपैयाँ रहेकोमा हाल ४ अर्ब ३३ करोड ७० लाख रुपैयाँ बराबरको दायित्व कायम रहेको उल्लेख गरिएको छ।

रेटिङ पुनः यथावत् रहने आधारमा कम्पनीद्वारा सञ्चालनमा रहेको २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाको मध्यमस्तरीय सञ्चालन प्रदर्शनलाई मुख्य आधार मानिएको छ। सञ्चालनमा आएको २०८१ मंसिर मध्यदेखि २०८३ वैशाख मध्यसम्मको दुईवटा सुख्खा मौसममा करिब ९५ प्रतिशत सम्झौता ऊर्जा उत्पादन गर्न सफल भएको देखिएको छ। समग्र अवधिमा भने करिब ८१ प्रतिशत मात्र उत्पादन भएको तथ्य मूल्याङ्कनमा समेटिएको छ। वर्षायाममा प्रसारण लाइनमा देखिएको भार वृद्धिका कारण ऊर्जा प्रवाहमा अवरोध उत्पन्न भएको बताइए पनि आगामी वर्षायाममा प्रसारण क्षमता सुधार भई निकासी अवरोध घट्ने सम्भावनाले जोखिम केही हदसम्म कम हुने अपेक्षा गरिएको छ।

विद्युत् खरिद सम्झौताअनुसार करिब ३१ प्रतिशत सुख्खा ऊर्जा मिश्रण कायम रहेको र न्यूनतम आवश्यक ३० प्रतिशत सीमाभन्दा माथि रहेकाले आपूर्ति जोखिम सीमित रहेको निष्कर्ष निकालिएको छ। साथै, नेपाल विद्युत् प्राधिकरणसँग पूर्वनिर्धारित दर तथा वृद्धि संरचनासहितको सम्झौता भएकाले बिक्री तथा मूल्य जोखिम न्यून रहेको मूल्याङ्कन गरिएको छ। यसैगरी, जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडको संस्थागत प्रवर्द्धन र सञ्चालक समितिमा प्रतिनिधित्व रहेको आधारमा संस्थागत समर्थनसमेत बलियो पक्षका रूपमा रहेको उल्लेख गरिएको छ।

तर, आयोजनाको प्रति मेगावाट लागत करिब २४ करोड ९० लाख रुपैयाँ जस्तो उच्च स्तरमा पुगेकाले ऋणभार बढेको देखिएको छ। निश्चित दर र निश्चित वृद्धिदरका कारण प्रतिफल सूचक कमजोर बनेको र कुल ऋण तथा सञ्चालन नाफाबीचको अनुपात करिब १० गुणा रहेको तथ्य पनि औंल्याइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*