विद्युत् नियमन आयोगमा अध्यक्ष र ४ सदस्यका लागि आवेदन माग

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगको अध्यक्ष र सदस्य नियुक्तिका लागि आवेदन आह्वान गरेको छ ।
मन्त्रालयले बिहीबार सार्वजनिक सूचना जारी गर्दै आयोगका रिक्त एक अध्यक्ष र चार सदस्य पदमा नियुक्तिका लागि योग्य तथा इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको हो ।
सार्वजनिक सूचनाअनुसार चार सदस्य पदमध्ये एक पद महिलाका लागि छुट्याइएको छ । विद्युत् नियमन आयोग ऐन, २०७४ को दफा ५ बमोजिम नियुक्ति प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ ।
आवेदन दिन इच्छुक उम्मेदवारले ऐनमा तोकिएको न्यूनतम शैक्षिक योग्यता तथा अनुभव पूरा गरेको हुनुपर्नेछ । मन्त्रालयले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन पेस गर्न आग्रह गरेको छ ।
आवेदन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत विकास सहायता तथा प्राविधिक समन्वय महाशाखामा बुझाउनुपर्ने सूचनामा उल्लेख छ ।












