लोकतन्त्रको चीरहरण, प्रेसमाथि नाङ्गो हस्तक्षेप, मौन रास्वपा र घण्टी

नबराज न्यौपाने
२९ श्रावण २०८३, शुक्रबार १७:२१

काठमाडौं । चुनाव अघि हरेक आमसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले घण्टी बजाउँदै लोकतन्त्र र विधिको शासनको वकालत गर्थे । तर आज राज्यद्वारा लोकतन्त्रको चीरहरण हुने गरी प्रेसमाथि राज्यद्वारा निर्लज्ज हस्तक्षेप हुँदा पनि राष्ट्रिय स्वतन्त्र पार्टी मौन छ, अर्थात घण्टी बजेको छैन ।

महाभारत कथामा जब द्रोपदीको चीरहरण हुँदै थियो, आकाशमा विशाल महाभारत युद्धको कालोबादल मडारिरहेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा रहेको दुई तिहाई नजिकको सरकारले अहिले सर्वत्र चीर हरण गरिरहेको छ । थापाथलीसहित देशका सुकुम्बासी बस्तीहरुमा सालनालसहितको बालक, गर्भवती महिला र अपाङ्गता भएकाहरुको समेत चीरहरण गरियो, उद्योगी व्यापारीहरुमाथि मध्यराति छापामारेर चीरहरण गरियो, प्रहरी सुरक्षाकर्मीका उच्च अधिकारीलाई संसदीय समितिमा बोलाएर चीरहरण गरियो, संसदमा प्रतिपक्षलाई बोल्न समेत नदिएर विपक्षीको चीरहरण गरिएको छ अनि पछिल्लो श्रृंखलामा प्रेसको चीर हरण गरिएको घटनाको परिदृष्यले मुलुकको अबको गन्तव्य सहजै अनुमान गर्न सकिन्छ । यति मात्रै होइन, मुख्यसचिवदेखि पिउनसम्मका कर्मचारीहरुको प्रधानमन्त्रीदेखि गाउँका कार्यकर्ताहरुले दैनिक सयौं कर्मचारीहरुको यसैगरी चीरहरण गरिन्छ । चीरहरणको परिणाम नागरिकले आत्महत्या, कर्मचारीले जागिर छोड्ने र पेशाकर्मी र व्यवसायीले पेशा छोड्ने क्रम ह्वात्तै बढेको छ ।
नेपालले एउटा १० बर्षे लामो द्वन्द अन्त्य गरेर शान्ति प्रक्रियामा आएको धेरै समय भएको छैन । तर, सरकारले अहिले गरिरहेको चीरहरणले मुलुक नयाँ द्वन्द सन्निकट आइरहेको प्रष्टै देख्न सकिन्छ । आज आत्रै होइन, सनातन् देखि नै जब जब चीरहरणले सीमा नाघ्छ, तब तब देश र समाजमा भयानक र डरलाग्दा द्वन्दहरु भएका इतिहासहरु साक्षी छन् । त्यहाँ भारतको कथा, रामायणको कथादेखि यताका धेरै घटनाहरुमा देख्न सकिन्छ ।

सरकारले गरिरहेको प्रेसको चीरहरणबारे राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा मौन छ । आफै पत्रकार पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले प्रेसको चीरहरण भएको घटनाबारे अहिलेसम्म मुख खोल्न सकेका छैनन् । कुन पत्रकार, कुन सञ्चारगृहमा प्रहरीमार्फत चीर हरण गरियो यो प्रश्न होइन, प्रश्न प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको चीर हरण हुँदा पनि रास्वपा किन मौन छ ? सरकारबाट कहिलेकाही राम्रो काम हुन्छ कहिले खराव तर एउटा जीवन्त राजनीतिक पार्टीले लोकतन्त्रको चीरहरणको पक्षमा मौन बस्छ भने उक्त पार्टीबाट मुलुकमा कानुनी राज्य र लोकतन्त्रको समृद्धि भन्ने बिषयमा थप आशा गर्न सकिदैन । राष्ट्रिय स्वतन्त्र पार्टी लोकतन्त्रको पक्षधर पार्टी हो वा होइन । प्रजातन्त्रप्रति सो पार्टीको आधिकारिक धारणा के हो ? कानुनी शासनप्रतिको सो पार्टीको धारणा के हो ? अब प्रश्नको घेरामा परिसकेको छ ।

२१ औं शताब्दीको आधुनिक समाजका मानव जाति हुनु र मानव जातिको नेतृत्व गर्दै राजनीति गर्छु भनेको रास्वपाले लोकतन्त्रको अभिन्न अंग रहेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आफ्नो धारण प्रष्ट छैन भने अब कुनै शंका नगरी भन्दा हुन्छ, रास्वपाको नेतृत्वमा मुलुकमा तानाशाही सत्ताको जन्म भइसकेको छ । आधुनिक युगमा दासता र तानाशाही शासन व्यवस्था लादेर विकास र समृद्धिको सपना हावादारी कुरा र सत्ता टिकाउने खेलभन्दा अन्यथा हुनसक्दैन ।

चुनाव अघि हरेक घरमा बजेको, घन्किएको राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी सुकुम्बासीले आत्महत्या गर्ने अवस्थामा पुर्याउँदा किन बज्दैन ? कर्मचारीहरुको हुर्मत लिइदा किन बज्दैन ? प्रेसको हुर्मत लिँदा किन बज्दैन ? नबज्ने बानी परिसकेको घण्टी सरकारले गरेका हरेक काममामात्रै होइन आफै पतन भइसक्दा समेत पनि बज्नेछैन । चेतना भया ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*