२५ प्रतिशत कैद छुट पाएपछि जेलमुक्त भए पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी जेलमुक्त भएका छन् । तोकिएको कैद सजाय भुक्तान गरेपछि उनी बिहीबार बिहान कारागारबाट रिहा भएका हुन् ।
कारागार कार्यालय डिल्लीबजारका अनुसार ज्येष्ठ नागरिकका रूपमा पाउने कैद छुट सुविधाअन्तर्गत उनलाई रिहा गरिएको हो । ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को दफा १२ मा ६५ देखि ७० वर्ष उमेर समूहका ज्येष्ठ नागरिकले कैद सजायमा २५ प्रतिशत छुट पाउने व्यवस्था छ ।
सोही कानुनी व्यवस्थाअनुसार काठमाडौं जिल्ला अदालतले कैद छुटको सुविधा प्रदान गर्न आदेश दिएपछि रायमाझी रिहा भएका हुन् । सरकारले पनि दुई महिनाअघि कारागार नियमावली संशोधन गर्दै ज्येष्ठ नागरिकसम्बन्धी ऐनअनुसार कैदीलाई सुविधा उपलब्ध गराउने व्यवस्था समेटेको थियो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका रायमाझीलाई अदालतले चार वर्ष कैद सजाय सुनाएको थियो । उनी २०८० वैशाखदेखि कारागारमा रहँदै आएका थिए । कैद सजायमा ज्येष्ठ नागरिकले पाउने २५ प्रतिशत छुट गणना गरी उनलाई रिहा गरिएको हो ।
कारागारबाट बाहिरिएपछि परिवार तथा आफन्तले उनलाई स्वागत गरेका थिए । रिहा भएलगत्तै उनी परिवारका सदस्यसँगै आफ्नो निवास पुगेका छन् ।











