राजकीय सत्ता र जनमत दुरुपयोग नगर्न रविको चेतावनी, फिर्ता बोलाउन खोजिएकै हो ?

२० कार्तिक २०८३, शुक्रबार १७:४७

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारले जनअपेक्षा अनुसार काम गर्न असफल मात्रै होइन, राजकीय सत्ताको दुरुपयोग गर्दै लोकतन्त्रको हुर्मत लिन थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टी गम्भिर मात्रै बनेको छैन, पार्टी सभापति रवि लामिछानेले आज चितवनबाट कडा सन्देश समेत दिएका छन् ।

आज चितवनमा आयोजित राजनीतिक कार्यक्रममा पार्टी सभापति रवि लामिछानेले पार्टीभित्र हुर्कदै गरेको विकृतिबारे गहन चर्चा गर्दै सरकार लक्षित अर्थपूर्ण अभिव्यक्तिहरु दिएका छन् । पार्टी सभापति लामिछानेले जनताबाट प्राप्त १८२ सिटको जनमतको सदुपयोग हुन नसकेको घुमाउरो पारामा स्वीकार गर्दै भने, ‘जनताले १८२ सिट दिए, हाम्रो भुइँमा खुट्टा छैन, मात्तिएका छौँ, टुप्पिएका छौँ हामी, हो कि होइन ? यसरी हुँदैन, यसरी हुँदैन! माथिदेखि तलसम्म हामी यति मात्तिएका छौँ, हामी यति चढेका छौँ, हामीले मान्छेलाई मान्छे गनेका छैनौं ।’ सभापति लामिछानेले उल्लेखित आरोप बालेन सरकार र अहिलेका रास्वपाकै मन्त्रीहरुमाथि लगाएका हुन् । पार्टी सभापतिले देशैभरिका कार्यकर्ताहरुलाई जनमतको बलमा तुजुक नदेखाउन, जनमतको गलत प्रयोग नगर्न र राजकीय शक्तिको दुरुपयोग नगर्न सबैलाई घुमाउरो भाषामा चेतावनी दिएका छन् ।

अहिले राष्ट्रिय स्वतन्त्र पार्टीभित्र सरकारको काम कारवाहीलाई लिएर चरम असन्तुष्टी फैलिरहेको छ । पार्टीका शीर्ष तहदेखि स्थानीय तहसम्म असन्तुष्टी फैलिरहेको छ । बालेन शाह नेतृत्वको सरकारले लोकतन्त्र, मानव अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको धज्जी उडाउँदै आएको छ । जसका कारण पार्टीभित्रका बौद्धिक जमात पुरै आक्रोसित छ ।

पछिल्लो समय आईजीपी काण्डसम्म आइपुग्दा सरकारले जनमतको उपेक्षा र राजकीय सत्ताको दुरुपयोग गरेको निष्कर्षमा कतिपय पार्टीका नेताहरु पुगिसकेका छन् । निर्वाचनपछिका छ महिनासम्म मौन बस्दै आएका विपक्षीहरुले समेत सरकारको खुलेर विरोध मात्रै होइन, ठेगान लगाएरै छोड्ने प्रतिबद्धता व्यक्त गर्न थालिसकेको सन्दर्भमा पार्टी जोगाउने कि बालेन शाहको छवी भन्ने दोधारमा परेका छन्, पार्टी सभापति लामिछाने ।

आज चितवनमा व्यक्त गरेको अभिव्यक्ति पार्टीभित्र आम नेता कार्यकर्ताहरुको मनको कुरा भएको भन्दै नयाँ चर्चा र बहस सुरु भएको छ । फेरि पनि प्रश्न उठेको छ, लोकतन्त्रलाई पुनर्बहाली गर्न सभापति लामिछानेले बालेन शाहलाई सरकारबाट फिर्ता बोलाउन सक्लान त ?

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*