त्रिशूली जलविद्युत कम्पनीको घाटा बढ्यो, आयोजना निर्माणको खर्च ७ अर्ब माथि

काठमाडौं । माथिल्लो त्रिशूली थ्री बी जलविद्युत आयोजनाको प्रवर्द्धक त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार आयोजना निर्माणको अन्तिम चरणतर्फ उन्मुख हुँदै गर्दा कम्पनीको वित्तीय सूचकहरूमा उतारचढाव देखिएका छन्।
कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीको खुद नोक्सानी १३ करोड १६ लाख ५५ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा कम्पनीको नोक्सानी २ करोड ९१ लाख ४१ हजार रुपैयाँ मात्र थियो। आयोजनाबाट विद्युत उत्पादन शुरु भइनसकेका कारण आम्दानी शून्य रहनु र प्रशासनिक तथा अन्य खर्चहरू बढ्दै जानुले कम्पनीको नोक्सानी गत वर्षको तुलनामा उल्लेख्य बढेको हो।
निर्माण भइरहेको आयोजनाको प्रगति ‘क्यापिटल वर्क इन प्रोग्रेस’ मा भने उत्साहजनक वृद्धि देखिएको छ। अघिल्लो वर्षको असार मसान्तमा ६ अर्ब ४ करोड ६७ लाख रुपैयाँ रहेको यस्तो खर्च गत असार मसान्तसम्म आइपुग्दा बढेर ७ अर्ब १७ करोड ५३ लाख रुपैयाँ पुगेको छ। यसले आयोजनाको भौतिक निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको संकेत गर्दछ। आयोजनाको कुल सम्पत्ति पनि अघिल्लो वर्षको ६ अर्ब ८८ करोडबाट बढेर ८ अर्ब ३५ करोड ५९ लाख रुपैयाँ पुगेको छ।
कम्पनीको दीर्घकालीन ऋणमा पनि वृद्धि भएको छ। निर्माण कार्यका लागि लिइएको ऋण अघिल्लो वर्ष ३ अर्ब ७५ करोड ११ लाख रहेकोमा यस वर्ष ४ अर्ब ६९ करोड ८३ लाख रुपैयाँ पुगेको छ। आयोजना अझै निर्माणको क्रममा रहेकाले कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ३६ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ७६ रुपैयाँ १२ पैसा कायम भएको छ।
कम्पनीको चालू अनुपात अघिल्लो वर्षहरूको तुलनामा केही सुधारिएर ०.५० पुगेको भए पनि यो अझै न्यून देखिन्छ। व्यवस्थापनका अनुसार मुख्य सिभिल कार्य र इलेक्ट्रोमेकानिकल तथा हाइड्रोमेकानिकल कार्यहरू हाल सुचारु रहेका छन्। आयोजनाको सम्पूर्ण कार्य २०८४ असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
कम्पनीले विदेशी विनिमय दरमा हुने उतारचढाव, मनसुनका कारण निर्माणस्थलमा पर्न सक्ने प्रभाव र दक्ष जनशक्ति टिकाई राख्नुलाई मुख्य चुनौतीको रूपमा औंल्याएको छ। यद्यपि निर्माण कार्यलाई निर्धारित समयमै सम्पन्न गर्न नियमित अनुगमन र समन्वय भइरहेको कम्पनीले उल्लेख गरेको छ।











