सयपत्री हाइड्रोपावरको नाफामा २७ प्रतिशतको गिरावट, विद्युत बिक्री आम्दानी पनि घट्यो

काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षमा ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब २७.७८ प्रतिशतले कम हो। अघिल्लो वर्षको असार मसान्तसम्ममा कम्पनीले ४१ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
कम्पनीको मुख्य आम्दानीको स्रोत मानिने विद्युत बिक्रीबाट हुने आम्दानीमा पनि गिरावट देखिएको छ। गत वर्ष ५ करोड ७८ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले यस वर्ष ५ करोड २ लाख रुपैयाँ मात्र संकलन गर्न सफल भएको छ। आयमा आएको यो गिरावटले प्रत्यक्ष रूपमा कम्पनीको नाफालाई असर गरेको देखिन्छ। यता कम्पनीको सञ्चालन मुनाफा ३ करोड ६२ लाख रुपैयाँ रहेको छ जुन अघिल्लो वर्ष ४ करोड ३४ रुपैयाँ थियो।
कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) मा पनि ह्रास आएको छ। अघिल्लो वर्ष १ रुपैयाँ ३९ पैसा रहेको प्रतिसेयर आम्दानी यस वर्ष १ रुपैयाँमा सीमित भएको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ ९१ रुपैयाँ ८४ पैसा रहेको छ।
हाल ३० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस हाइड्रोपावरको जगेडा कोष अझै ऋणात्मक अवस्थामै छ। विवरण अनुसार कम्पनी ४ करोड ८७ लाख ६२ हजार रुपैयाँ सञ्चित नोक्सानीमा रहेको छ। वित्तीय खर्च भने यस अवधिमा १ करोड ३७ लाख ९५ हजार रुपैयाँ भएको देखिन्छ। कुल ५० करोड ८५ लाख रुपैयाँ बराबरको सम्पत्ति रहेको यस कम्पनीको दीर्घकालीन ऋण २० करोड २६ लाखबाट घटेर १७ करोड ९७ लाख रुपैयाँ कायम भएको छ।











