जीवन बीमा कम्पनीको एकल प्रिमियम ३९ प्रतिशतले बढ्योः हिमालयन, सिटिजन र आईएमईको आक्रामक वृद्धि

काठमाडौं । जीवन बीमा कम्पनीहरूको एकल बीमा शुल्क अर्थात् सिंगल प्रिमियमबाट हुने व्यवसायमा उल्लेख्य वृद्धि भएको छ । आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरूले कुल २२ अर्ब ४२ करोड १० लाख रुपैयाँ एकल बीमा शुल्क संकलन गरेका छन् । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९.४८ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्म यस्तो प्रिमियम १६ अर्ब ७ करोड ४५ लाख रुपैयाँ रहेको थियो ।
कुल एकल प्रिमियम संकलनमा नेपाल लाइफ इन्स्योरेन्स सबैभन्दा अगाडि देखिएको छ। कम्पनीले समीक्षा अवधिमा ६ अर्ब ८ करोड २७ लाख रुपैयाँ एकल बीमा शुल्क संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको यस्तो व्यवसाय ३१.७९ प्रतिशतले बढेको हो । दोस्रो स्थानमा रहेको प्रभु महालक्ष्मी लाइफले ४ अर्ब १८ करोड ४९ लाख रुपैयाँ संकलन गर्दा नेशनल लाइफ इन्स्योरेन्सले ३ अर्ब ३३ करोड ३ लाख रुपैयाँ संकलन गरेको छ ।

वृद्धिदरका आधारमा भने हिमालयन लाइफ इन्स्योरेन्स सबैभन्दा अगाडि देखिएको छ । कम्पनीको एकल प्रिमियम अघिल्लो वर्षको १३ करोड २६ लाख रुपैयाँबाट बढेर ४६ करोड ४४ लाख रुपैयाँ पुगेको छ। यससँगै कम्पनीले २५०.१६ प्रतिशतको वृद्धि हासिल गरेको छ । आईएमई लाइफको एकल प्रिमियम पनि १५५.२४ प्रतिशतले बढेर ३३ करोड ८५ लाख रुपैयाँ पुगेको छ। त्यस्तै सिटिजन लाइफले १११.८८ प्रतिशत वृद्धि गर्दै १ अर्ब ४८ करोड २ लाख रुपैयाँ संकलन गरेको छ ।
सूर्यज्योति लाइफले १ अर्ब ४९ करोड २७ लाख रुपैयाँ एकल प्रिमियम संकलन गरेको छ। कम्पनीको यस्तो व्यवसाय अघिल्लो वर्षको तुलनामा ४६.४३ प्रतिशतले बढेको हो । एशियन लाइफले १ अर्ब १० करोड ५९ लाख रुपैयाँ र एलआईसी नेपालले १ अर्ब ६ करोड ३५ लाख रुपैयाँ संकलन गरेका छन् ।
यस्तै सन नेपाल लाइफले ९९ करोड ४१ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ७४ करोड ७३ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ५९ करोड ६ लाख रुपैयाँ र मेट लाइफले ५४ करोड ५३ लाख रुपैयाँ एकल बीमा शुल्क आर्जन गरेका छन् । सिंगल प्रिमियम भनेको जीवन बीमा पोलिसीको सम्पूर्ण प्रिमियम रकम बीमितले एकैपटक भुक्तानी गर्ने व्यवस्था हो । यसमा मासिक, त्रैमासिक वा वार्षिक रूपमा प्रिमियम तिर्नु पर्दैन भने एकमुष्ट प्रिमियम भुक्तानी गरेपछि पोलिसीका आधारमा निर्धारित बीमा सुविधा तथा कभरेज लागू हुने गर्दछ ।










