चीनसँगको व्यापारमा नाकाबन्दीको छाया, बढ्यो ढुवानी खर्च र मूल्यवृद्धिको जोखिम

काठमाडौं । नेपालका लागि चीन पछिल्लो समय आयातको महत्वपूर्ण स्रोत बन्दै गएको छ । नेपालको कुल वैदेशिक आयातमा चीनको योगदान करिब २०.२८ प्रतिशत पुगेको छ । तर, प्रमुख व्यापारिक नाकामध्ये रसुवागढी र तातोपानी प्रभावित भएपछि चिनियाँ सामान नेपाल भित्र्याउने प्रक्रियामा ठूलो चुनौती थपिएको छ ।
भदौ १० गते आएको बाढीले रसुवागढी क्षेत्रको भन्सार पूर्वाधारमा गम्भीर क्षति पुर्याएपछि केरुङ–रसुवा व्यापारिक आवागमन रोकिएको छ । त्यसैगरी भदौ १४ गतेदेखि तातोपानी नाका पनि सञ्चालनमा छैन । दुवै प्रमुख नाका अवरुद्ध भएपछि चीनसँगको व्यापारका लागि मुस्ताङको कोरला नाकालाई वैकल्पिक रूपमा प्रयोग गर्नुपर्ने अवस्था आएको छ ।
कोरला हुँदै काठमाडौंसम्म मालवस्तु ल्याउँदा नियमित मार्गको तुलनामा करिब एकदेखि डेढ साता बढी समय लाग्ने व्यवसायीहरूको भनाइ छ । ढुवानी खर्चसमेत उल्लेख्य रूपमा बढेको छ । यसअघि करिब दुई लाख रुपैयाँमा हुने सामान ओसारपसारको लागत अहिले चार लाख रुपैयाँसम्म पुगेको छ । यातायात खर्चमा भएको यस्तो वृद्धिले चीनबाट आउने वस्तुको मूल्यमा समेत दबाब सिर्जना गर्ने देखिएको छ । विशेषगरी चाडपर्वका बेला माग बढ्ने उपभोग्य सामग्रीको मूल्यमा यसको प्रभाव प्रत्यक्ष पर्न सक्ने व्यवसायी तथा भन्सार अधिकारीहरूको आकलन छ ।
नेपालको चीनसँगको व्यापार पछिल्ला वर्षमा निरन्तर विस्तार हुँदै आएको तथ्यांकले देखाउँछ । आर्थिक वर्ष २०८१/८२ मा चीनबाट तीन खर्ब ४१ अर्ब १० करोड रुपैयाँ बराबरका वस्तु नेपाल भित्रिएका थिए । त्यसको अर्को वर्ष अर्थात् आव २०८२/८३ मा चिनियाँ वस्तुको आयात २४.६७ प्रतिशतले बढेर चार खर्ब २५ अर्ब २५ करोड रुपैयाँ पुगेको छ ।
उक्त आर्थिक वर्षमा नेपालको समग्र आयात २० खर्ब ९६ अर्ब ३८ करोड रुपैयाँ रहेको थियो । यस आधारमा चीन नेपालको दोस्रो ठूलो आयात स्रोतका रूपमा रहेको छ । पहिलो स्थानमा भारत छ । भारतबाट आव २०८२/८३ मा १२ खर्ब १० अर्ब ६० करोड रुपैयाँ बराबरका सामान नेपाल आएका थिए, जुन कुल आयातको ५७.७५ प्रतिशत हो ।
चीनसँगको व्यापारमा आयातको हिस्सा बढ्दै जाँदा व्यापार असन्तुलन पनि ठूलो देखिन्छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा मात्रै चीनबाट ३१ अर्ब ७४ करोड ६१ लाख ६० हजार रुपैयाँ बराबरका वस्तु नेपाल भित्रिएका छन् । सोही अवधिमा नेपालबाट चीनतर्फ भने २१ करोड २६ लाख २७ हजार रुपैयाँ बराबरको वस्तु मात्र गएको छ । अर्थात् साउनमा चीनसँग नेपालको आयात–निर्यात अन्तर ३१ अर्ब ५३ करोड ३५ लाख रुपैयाँ हाराहारीमा पुगेको छ ।
चीनबाट नेपालमा विभिन्न प्रकृतिका वस्तु आउने गरेका छन् । महँगा विद्युतीय सवारीसाधन, तयारी पोसाक, विद्युतीय तथा इलेक्ट्रोनिक सामग्रीदेखि दैनिक उपभोगका सामानसम्म चिनियाँ वस्तुको ठूलो हिस्सा नेपाली बजारमा रहेको छ । भन्सारसम्बन्धी तथ्यांकले कृषि प्रयोजनका सामग्री, उपभोग्य वस्तु तथा निर्माण र औद्योगिक क्षेत्रमा प्रयोग हुने उपकरणमा समेत नेपाल चीनमाथि उल्लेख्य रूपमा निर्भर रहेको देखाउँछ ।
नेपालमा आयात–निर्यात सञ्चालनका लागि ४० वटा भन्सार नाका निर्धारण गरिएका छन् । तीमध्ये करिब २८ वटा नाका तुलनात्मक रूपमा सक्रिय छन् । चीनसँग सीमा जोडिएका करिब १० वटा भन्सार नाका रहे पनि सबैबाट नियमित रूपमा व्यापार हुने गरेको छैन ।
चीनसँग जोडिएका नाकामा दार्चुला, तातोपानी, कोरला, रसुवागढी, लार्के, लामाबगर, ओलाङचुङगोला, किमाथांका, यारी र मुगुका भन्सार कार्यालय पर्छन् । यीमध्ये केही नाकाबाट नियमित व्यापारिक कारोबार हुन सकेको छैन । भन्सार विभागका अनुसार चीनतर्फ जोडिएका थप सात नाकाबाट निकासी वा पैठारी भएको अभिलेख छैन ।
भौगोलिक दूरी, सडक पहुँच र व्यापारिक सहजताका कारण तातोपानी र रसुवागढी नाका चीनसँगको व्यापारका मुख्य प्रवेशद्वार मानिँदै आएका छन् । कोरला नाका पनि सञ्चालनमा रहे पनि यसबाट हुने कारोबारको मात्रा यी दुई नाकाको तुलनामा कम थियो ।
आव २०८२/८३ को तथ्यांक हेर्दा तातोपानीबाट मात्रै ४७ अर्ब ४८ करोड रुपैयाँ बराबरका सामान नेपाल भित्रिएका थिए । यो मुलुकको कुल आयातको २.२७ प्रतिशत हो । त्यसपछि रसुवा भन्सारमार्फत ४५ अर्ब ७३ करोड ८२ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो, जुन कुल आयातको २.१८ प्रतिशत हो ।
त्यसैगरी मुस्ताङको कोरला नाकाबाट सोही अवधिमा १४ अर्ब ४० करोड ६७ लाख रुपैयाँ बराबरका वस्तु नेपाल आएका थिए । यसको हिस्सा कुल आयातमा ०.६९ प्रतिशत रहेको थियो ।
अहिले भने व्यापारिक गतिविधिको ठूलो हिस्सा ओगटेका रसुवा र तातोपानी नाका नै अवरुद्ध भएपछि त्यसको भार वैकल्पिक मार्गमा परेको छ । रसुवा क्षेत्रमा आएको बाढीले नेपालतर्फको रसुवा नाका र चीनतर्फ केरुङ क्षेत्रको संरचनामा ठूलो क्षति पुगेपछि तत्कालै नियमित आवागमन फर्कने अवस्था देखिएको छैन ।









