सिटिजन लाइफको ‘ट्रिपल बी प्लस’ रेटिङ पुनः पुष्टि, दायित्व बहन क्षमता बलियो

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वित्तीय दायित्व बहन गर्ने क्षमता तथा समग्र साख मूल्याङ्कनमा निरन्तरता देखिएको छ । इक्रा नेपालले कम्पनीको जारीकर्ता साख मूल्याङ्कन ‘ट्रिपल बी प्लस’ श्रेणीमा पुनः कायम गरेको हो । यस श्रेणीको मूल्याङ्कनले कम्पनीमा समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने क्षमता बलियो र वित्तीय जोखिम पनि नरहेको जनाउँछ ।
इक्रा नेपालको मूल्याङ्कनअनुसार कम्पनीको व्यवसाय विस्तार, बजार हिस्सा, नवीकरण दर, लगानीको गुणस्तर, पुनर्बिमा व्यवस्था, चुक्ता क्षमता तथा देशव्यापी उपस्थितिले साख मूल्याङ्कनलाई सकारात्मक आधार दिएको छ । कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा कुल बीमाशुल्क आम्दानीका आधारमा करिब २४ प्रतिशतको वृद्धि हासिल गरेको छ । नयाँ जीवन बीमा कम्पनीहरूको तुलनात्मक रूपमा कम आधारबाट व्यवसाय विस्तार भइरहेकाले यस्तो वृद्धि दर उच्च देखिए पनि सिटिजन लाइफले आफ्नो व्यवसायलाई निरन्तर विस्तार गर्दै आएको मूल्याङ्कनमा उल्लेख छ ।
जीवन बीमा क्षेत्रमा कम्पनीको कुल बीमाशुल्क आम्दानीतर्फ करिब ४ दशमलव ६ प्रतिशत र पहिलो वर्षको बीमाशुल्कतर्फ करिब ६ दशमलव २ प्रतिशत बजार हिस्सा रहेको छ । यसले कम्पनीले प्रतिस्पर्धात्मक जीवन बीमा बजारमा आफ्नो उल्लेख्य उपस्थिति बनाउन सफल भएको देखाएको छ । कम्पनीको व्यवसायमा दीर्घकालीन प्रकृतिको बीमा योजनाको वर्चस्वसमेत कायम रहेको छ । आर्थिक वर्ष २०८२/८३ मा कुल बीमाशुल्क आम्दानीको करिब ९१ प्रतिशत हिस्सा यस्ता योजनाबाट आएको छ, जसले कम्पनीको व्यवसायिक आधारलाई स्थिरता प्रदान गरेको मूल्याङ्कन गरिएको छ ।
कम्पनीको बीमा नवीकरण दर पनि सन्तोषजनक रहेको छ । बीमाशुल्कका आधारमा आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ दुवैमा नवीकरण दर करिब ८८ प्रतिशत कायम रहेको छ । यसले विद्यमान बीमितलाई निरन्तर कायम राख्ने कम्पनीको क्षमता राम्रो रहेको संकेत गर्छ ।
कम्पनीको लगानीतर्फ हेर्दा पनि अवस्था तुलनात्मक रूपमा राम्रो रहेको मूल्याङ्कन गरिएको छ । आर्थिक वर्ष २०२५/२६ को मध्य जुलाई २०२६ सम्म सिटिजन लाइफको बीमालेख धितोमा दिइने कर्जाबाहेकको कुल लगानी करिब ३१ अर्ब रुपैयाँ रहेको छ । यस लगानीको ठूलो हिस्सा वाणिज्य बैंकहरूमा राखिएका मुद्दती निक्षेप तथा तिनै वर्गका बैंकका ऋणपत्रमा केन्द्रित छ । यी दुई प्रकारका लगानीलाई जोड्दा कम्पनीको कुल लगानीको करिब ७७ प्रतिशत हिस्सा पुगेको छ । यस प्रकारको लगानी संरचनाले कम्पनीको लगानीमा स्थिरता र तुलनात्मक सुरक्षा कायम गर्न सहयोग पुर्याएको मूल्याङ्कन छ ।
कम्पनीको पुनर्बीमा व्यवस्था पनि सन्तोषजनक रहेको इक्रा नेपालले जनाएको छ । विशेषगरी ठूलो प्रकृतिका विपद्का घटनाबाट उत्पन्न हुन सक्ने दाबी दायित्व व्यवस्थापनका लागि विपद् जोखिमसम्बन्धी प्रावधानसहितको पुनर्बीमा व्यवस्थाले कम्पनीको दाबी भुक्तानी क्षमता र त्यस्ता असामान्य घटनामा पनि चुक्ता क्षमता कायम राख्न थप भरोसा दिएको छ ।
कम्पनीको चुक्ता तथा जोखिम वहन क्षमता पनि सहज अवस्थामा रहेको छ । मध्य जुलाई २०२५ सम्म कम्पनीको जोखिममा आधारित पुँजी तथा चुक्ता क्षमताको अनुपात १ दशमलव ७३ गुणा रहेको थियो । जोखिममा आधारित पुँजी तथा चुक्ता क्षमता संरचना, २०८२ अन्तर्गत तोकिएको न्यूनतम १ दशमलव ३० गुणाको नियामकीय आवश्यकताभन्दा यो स्तर माथि रहेको छ । यद्यपि अघिल्लो वर्षको मध्य जुलाईमा रहेको ३ दशमलव ४२ गुणाबाट उक्त अनुपात घटेको भए पनि नियामकीय न्यूनतम सीमाभन्दा माथि रहेकाले कम्पनीको चुक्ता क्षमता अझै सहज अवस्थामा रहेको मूल्याङ्कन गरिएको छ ।
देशका विभिन्न क्षेत्रमा रहेको कम्पनीको विविधीकृत उपस्थिति र बलियो अभिकर्ता सञ्जालले पनि व्यवसाय विस्तारमा सहयोग पुर्याएको छ । देशव्यापी पहुँच तथा अभिकर्तामार्फत बीमा सेवा विस्तार गर्ने क्षमताले कम्पनीको व्यवसायिक आधारलाई थप बलियो बनाएको मूल्याङ्कनमा उल्लेख छ । नेपालमा बीमा क्षेत्रको पहुँच अझै पर्याप्त विस्तार हुन बाँकी रहेकाले आगामी दिनमा बजार विस्तारको सम्भावना कायम रहेको अवस्थाले पनि कम्पनीका लागि सकारात्मक अवसर सिर्जना गरेको छ ।
सन् २०१७ को अक्टोबरदेखि सञ्चालनमा रहेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख प्रवद्र्धकहरूमा प्रदीपजङ्ग पाण्डेको करिब ५.३ प्रतिशत, कान्तिपुर पब्लिकेसन्स प्राइभेट लिमिटेडको करिब ५.२ प्रतिशत र सुमितकुमार अग्रवालको करिब ५.२ प्रतिशत सेयर स्वामित्व रहेको छ । सन् २०२६ को जुलाईको मध्यसम्म कम्पनीमा प्रवद्र्धक र सर्वसाधारणको सेयर स्वामित्व अनुपात ७०ः३० रहेको थियो । सोही समयसम्म कम्पनीले देशभर नयाँ बीमा व्यवसाय प्राप्त गर्न तथा ग्राहकलाई बीमापछिको सेवा दिन करिब १३६ वटा सेवा तथा व्यवसायिक केन्द्र सञ्चालन गरेको छ । कम्पनीसँग करिब ४० हजार २०० जना व्यक्तिगत अभिकर्ता र ५१ जना संस्थागत अभिकर्ता रहेका छन् ।









