आज देशभर बदलीसँगै वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । देशमा विभिन्न मौसमी प्रणालीको प्रभाव रहेकाले आज देशभर सामान्यतया बदली रहने र धेरैजसो स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले भारी वर्षा तथा पहाडी क्षेत्रमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। देशका अधिकांश पहाडी क्षेत्रमा पनि केही स्थानमा मेघगर्जनसहित वर्षा हुनेछ।
कोशी र कर्णालीका पहाडी क्षेत्रमा तथा बागमती, गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। तराईका बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थान तथा मधेश र कोशीका थोरै स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।
आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। हिमाली क्षेत्रका थोरै स्थानमा मध्यम वर्षा र हिमपात तथा पहाडी र तराईका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ।
भारी वर्षा र मेघगर्जनका कारण साना तथा ठूला नदी, खोला र खहरेमा पानीको सतह बढ्न सक्ने तथा पहाडी भिरालो क्षेत्रमा पहिरो र गेग्रान बहावको जोखिम रहेको महाशाखाले जनाएको छ। खराब मौसमका कारण सडक तथा हवाई यातायातमा समेत आंशिक वा पूर्ण अवरोध आउन सक्ने सम्भावना छ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै बाढी तथा पहिरोको जोखिम भएका क्षेत्रमा यात्रा गर्दा विशेष सतर्कता अपनाउन र आवश्यक पूर्वतयारी गर्न महाशाखाले आम नागरिकलाई अनुरोध समेत गरेको छ।









