आज हरितालिका तीज, भगवान शिवको पूजा–आराधना गरी मनाइँदै

काठमाडौं । नेपाली हिन्दु महिलाहरूको प्रमुख पर्व हरितालिका तीज आज देशभर श्रद्धा, भक्ति र उल्लासका साथ मनाइँदैछ। आज महिलाहरूले भगवान शिवको पूजा–आराधना गर्दै सुख, शान्ति, समृद्धि तथा पारिवारिक सुख–शान्तिको कामना गर्ने गर्छन्।
हिमालयकी पुत्री पार्वतीले भगवान शिवलाई पति रूपमा प्राप्त गर्न कठोर तपस्या गरेकी थिइन्। पार्वतीले आफ्ना सखीहरूको सहयोगमा आफूलाई लुकाएर शिवप्राप्तिका लागि तपस्या गरेको र सोही कारण उनले शिवलाई प्राप्त गरेको धार्मिक मान्यता रही आएको छ।
पार्वतीको तपस्याबाट प्रसन्न भएर भगवान शिवले उनलाई पत्नीका रूपमा स्वीकार गरेको मान्यताका आधारमा तीज पर्व मनाउने परम्परा शुरु भएको विश्वास गरिन्छ। आज पशुपतिनाथलगायत देशभरका शिवालयहरूमा बिहानैदेखि पूजा तथा दर्शनका लागि भक्तजनहरूको बाक्लो भीड लागेको छ।









