अब एटीएमबाटै पाइनेछ १०० रुपैयाँको नोट

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका एटीएमबाट एक हजार र ५०० रुपैयाँ दरका नोटसँगै १०० रुपैयाँ दरका नोटसमेत वितरण गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ।
राष्ट्र बैंकले एक पत्रमार्फत बैंक तथा वित्तीय संस्थाहरूलाई एटीएमबाट १०० रुपैयाँ दरका नोट वितरण गर्न अनुरोध गरेको हो। ग्राहकहरूबाट समय–समयमा एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत उपलब्ध गराउन माग हुँदै आएको र नजिकिँदै गरेको बडादशैंलाई ध्यानमा राखेर यस्तो व्यवस्था गर्न आग्रह गरिएको राष्ट्र बैंकले जनाएको छ।
चाडपर्वको समयमा बैंक तथा वित्तीय संस्थामा साना दरका नोट साट्ने ग्राहकको भीड बढ्ने भएकाले एटीएमबाट १०० रुपैयाँ दरका नोट वितरण गर्न सकेमा बैंकमा हुने भीड उल्लेख्य रूपमा कम हुने राष्ट्र बैंकको अपेक्षा छ।
राष्ट्र बैंकले केही बैंकसँग मौखिक रूपमा जानकारी लिँदा एटीएमबाट १०० रुपैयाँ दरका नोट वितरण गर्ने व्यवस्था प्राविधिक रूपमा सम्भव रहेको जानकारी प्राप्त भएको जनाएको छ। आम सर्वसाधारणको सुविधा तथा चाडपर्वका समयमा बैंकमा हुने भीड व्यवस्थापनलाई ध्यानमा राख्दै यस्तो व्यवस्था गर्न राष्ट्र बैंकले आग्रह गरेको हो।









