शेयर बजारमा रौनक, कारोबार समेत बढ्यो, हरियाली होला त अब ?

काठमाडौँ । शेयर बजारमा लगातार दोस्रो दिन सुधार देखिएको छ । पूँजी बजारमा देखिएका विद्यमान कमजोरी सुधार गर्दै यसको विकास र विस्तारका लागि सरकारले १० देखि १२ बुँदे विशेष सुधार कार्यक्रम ल्याउने तयारी गरेको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अभिव्यक्तिपछि लगानीकर्ताको मनोबलमा केही सुधार आएको देखिएको छ । एक कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले पूँजी बजारलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने दिशामा सरकार अघि बढिरहेको संकेत गरेका थिए । लामो समयदेखि बजारमा देखिएको अस्थिरता, घट्दो कारोबार र कमजोर लगानीकर्ता मनोबलबीच सरकारबाट सुधारको पहल हुने संकेतले बजारमा सकारात्मक मनोवैज्ञानिक प्रभाव पारेको देखिन्छ ।
अर्थमन्त्री वाग्लेले बैंकिङ क्षेत्रमा थुप्रिएको पूँजी घरजग्गा र शेयर बजारमा मात्रै केन्द्रित नभई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्नुपर्ने धारणा पनि राखेका छन् । पूँजी बजारलाई अर्थतन्त्रको उत्पादनशील क्षेत्रसँग जोड्ने सरकारी प्राथमिकताको संकेतका रूपमा उनको भनाइलाई हेरिएको छ । नियामकीय स्पष्टता, बजार सुधार तथा लगानीको वातावरण सहज बनाउने सरकारी पहलको अपेक्षामा रहेका लगानीकर्ताले अर्थमन्त्रीको पछिल्लो अभिव्यक्तिलाई सकारात्मक रूपमा लिएका छन् । यसले पछिल्लो समय कमजोर बनेको बजार मनोविज्ञानमा केही सुधार ल्याएको विश्लेषण गरिएको छ ।
यसअघि विनाशकारी बाढी तथा पहिरोका कारण जलविद्युत् आयोजनाका विद्युत्गृह, बाँध, सुरुङ, पहुँचमार्ग तथा प्रसारण लाइनमा पुगेको क्षतिले जलविद्युत् कम्पनीप्रति लगानीकर्ताको आशंका बढाएको थियो । त्यस्तै, मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई प्राप्ति गर्ने प्रक्रिया अघि बढाएपछि सम्बन्धित कम्पनीका शेयरमूल्यमा देखिएको तीव्र उतारचढावले पनि बजारमा थप दबाब सिर्जना गरेको थियो । पछिल्लो सुधारसँगै भने लगानीकर्ताको ध्यान अब सरकारको प्रस्तावित पूँजी बजार सुधार कार्यक्रम, त्यसको कार्यान्वयन र बजारमा पर्न सक्ने दीर्घकालीन प्रभावतर्फ केन्द्रित भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.५५ अकंले बढेर २५८५.०४ बिन्दुमा कायम भएको छ । आज ३३६ कम्पनीको १ करोड १५ लाख ९१ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६८ करोड ४५ लाख रुपैयाँको कारोबार भएको हो ।
यसदिन १२ वटै उपसूचकमा सुधार देखिएको छ । आज म्युचुअल फण्ड समूहको शेयर मूल्य मात्रै घटेको हो । सोमबार २२६ कम्पनीको शेयर मूल्य बढेको छ भने ४७ कम्पनीको घटेको छ । २ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।










