घुस सहित समातिएका वन अधिकृत भुवन पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

२९ भाद्र २०८३, सोमबार १६:०२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय उदयपुरका वन अधिकृत भुवन पौडेलविरुद्ध १५ हजार रुपैयाँ घुस लिएको आरोपमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

उदयपुरको त्रियुगा नगरपालिका–१० स्थित डिभिजन वन कार्यालयको योजना शाखा प्रमुख रहेका पौडेलले सामुदायिक वन उपभोक्ता समितिको काठ लगत समर्थन तथा लिलाम सहमति सिफारिस पत्र दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको सूचना पाएपछि अख्तियारको इटहरीस्थित कार्यालयबाट टोली खटिएको थियो।

अख्तियारका अनुसार टोलीले पौडेललाई सेवाग्राहीबाट १५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो। अनुसन्धानका क्रममा उनले आफ्नो पदीय जिम्मेवारीअनुसार काठको लगत समर्थन तथा लिलाम सहमति सिफारिस गरिदिएबापत घुस मागेको र सेवाग्राहीलाई अनावश्यक दुःख हैरानी दिई काममा आलटाल गरेको खुलेको आयोगले जनाएको छ।

आयोगले पौडेलविरुद्ध १५ हजार रुपैयाँ बिगो कायम गरी कैद तथा बिगो बराबर जरिवानाको सजाय मागदाबी गर्दै आज सोमबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो। अख्तियारले मुद्दा चलाएसँगै उनी आफ्नो पदबाट निलम्बनमा परेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*