भोटेकोशी बाढीपछिको सरकारी उद्धार तथा राहत प्रयासको जनप्रतिनिधिद्वारा प्रशंसा

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बाढी आएपछि खोज, उद्धार, उपचार तथा राहत व्यवस्थापनका लागि सरकारले चालेका कदमको प्रभावित क्षेत्रका जनप्रतिनिधिले प्रशंसा गरेका छन्।
वालेन्द्र शाहसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका १४ स्थानीय तहका प्रमुख, बागमती प्रदेशका मुख्यमन्त्री तथा प्रतिनिधिसभाका सदस्य सहभागी थिए।
छलफलमा जनप्रतिनिधिले बाढीपछि संघीय सरकारले स्थानीय तहसँग समन्वय गर्दै प्रभावित क्षेत्रमा मन्त्री तथा कर्मचारी परिचालन गर्नुका साथै खोज, उद्धार र राहत कार्यको नियमित अनुगमन तथा समन्वय गरिरहेको बताएका छन्। प्रभावित क्षेत्रको वास्तविक अवस्था बुझ्न प्रधानमन्त्रीले जनप्रतिनिधिलाई बोलाएर छलफल गर्नु सकारात्मक भएको उनीहरूको भनाइ थियो।
जनप्रतिनिधिले प्रभावित नागरिकको पुनस्र्थापनाका लागि संघीय सरकारसँग निरन्तर सहकार्य र समन्वय गर्न आफूहरू तयार रहेको बताएका छन्। विपद् व्यवस्थापनमा कुनै पनि प्रकारको भेदभाव हुन नहुनेमा जोड दिँदै उनीहरूले गैरसरकारी संघसंस्थाले प्रभावित परिवारका लागि घर निर्माण तथा बालबालिकालाई आश्रय दिने लगायतका आश्वासन दिन थालेकाले त्यसबारे निगरानी आवश्यक रहेको बताएका छन्।
उनीहरूले प्रभावित क्षेत्रमा तत्काल सडक सञ्जाल विस्तार, बेपत्ता व्यक्तिको खोजी, सम्भावित महामारी रोकथाम तथा होल्डिङ सेन्टरमा रहेका नागरिकका लागि अस्थायी बसोबासको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। बाढी प्रभावित तटीय क्षेत्रमा हरियाली विकास गर्दै नागरिकलाई नजिकैका सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्य अघि बढाउन आफूहरू प्रतिबद्ध रहेको जनप्रतिनिधिले बताएका छन्।









