जग्गाको बैनाबापत ३२ लाख लिई ठगी, सिंहदरबार गेटबाटै यसरी पक्राउ परे गाउँपालिका अध्यक्ष

२९ भाद्र २०८३, सोमबार १७:२७

काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ सिंहदरबारको गेटबाटै पक्राउ परेका छन् । प्रधानमन्त्री बालेन शाहसँग बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग भएको छलफलमा सहभागी भएर बाहिरिने क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

प्रधानमन्त्रीसँगको छलफल सकेर सिंहदरबारबाट बाहिरिँदै गर्दा गाउँपालिका अध्यक्ष पक्राउ परेपछि यो विषय अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । प्रधानमन्त्रीसँग भेटघाट सकेर निस्किएका जनप्रतिनिधिमध्ये एक जनालाई सुरक्षाकर्मीले गेटमै रोकेर नियन्त्रणमा लिएपछि घटनालाई लिएर विभिन्न अड्कलबाजीसमेत हुन थालेका छन् ।

तर, अध्यक्ष तामाङलाई प्रधानमन्त्रीसँगको छलफलसँग सम्बन्धित कुनै विषयमा नभई बैंकिङ कसुरसम्बन्धी उजुरीका आधारमा पक्राउ गरिएको बताइएको छ । प्रहरीले उनलाई नियन्त्रणमा लिएपछि दरबारमार्ग प्रहरी परिसरमा बुझाएको जनाइएको छ ।

उपलब्ध विवरणअनुसार अध्यक्ष तामाङमाथि काठमाडौंको जितपुर गाविस–३ मा रहेको एक जग्गाको खरिद–बिक्रीसँग जोडिएको रकम तथा चेकको विवादमा उजुरी परेको हो । २०७९ माघ ३ गते मनमैजु मालपोत कार्यालयमा भएको भनिएको लिखतअनुसार उक्त जग्गाको मूल्य १ करोड रुपैयाँ कायम गरी ३५ दिनभित्र बिक्री–पास गर्ने सहमति भएको थियो ।

लिखतमा उल्लेख भएअनुसार जग्गा खरिदका लागि बैना रकमबापत एनआईसी एसिया बैंकको चेकमार्फत १७ लाख रुपैयाँ भुक्तानी गरिएको दाबी गरिएको छ । लिखतमा निर्धारित समयभित्र बाँकी रकम भुक्तानी गरी जग्गा रजिस्ट्रेसन पारित गर्ने सहमति रहेको उल्लेख छ । तोकिएको समयमा जग्गा पास हुन नसकेमा प्रचलित ब्याज तथा उचित क्षतिपूर्तिसहित कानुनबमोजिम दाबी गर्न सकिने शर्तसमेत राखिएको देखिन्छ ।

तर, त्यसपछि जग्गा पास गर्ने विषयमा विवाद उत्पन्न भएको दाबी गरिएको छ । सम्बन्धित पक्षको भनाइअनुसार सहकारीमा रोकिएको रकम फुकुवा भएपछि रकम उपलब्ध गराउने भन्दै थप रकमसमेत लिइएको थियो । नगद तथा चेकमार्फत गरी कुल रकम ३२ लाख रुपैयाँसम्म बुझिसकेको दाबी गरिएको छ ।

तर, लामो समयसम्म जग्गा पास नभएपछि खरिदकर्ताले आफूले बैना गरेको जग्गा अन्य व्यक्तिलाई बिक्री गरिएको थाहा पाएको दाबी गरेका छन् । त्यसपछि दिइएको चेक बैंकमा भुक्तानी हुन नसकेको भन्दै बैंकिङ कसुरअन्तर्गत उजुरी परेको र सोही आधारमा पक्राउ पुर्जी जारी भएको थियो । तर, लामो समयदेखि उनी पक्राउ परेका थिएनन् । उनी एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् ।

प्रधानमन्त्रीसँगको महत्वपूर्ण छलफलमा सहभागी भएर बाहिरिने क्रममा गाउँपालिका अध्यक्ष पक्राउ परेको दृश्य सार्वजनिक भएपछि घटनाले थप चर्चा पाएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*