आज देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

३० भाद्र २०८३, मंगलवार ०८:३८

काठमाडौं । आज देशभर सामान्यतया बादल लाग्ने र विभिन्न स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रमा केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा थोरै स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ। देशका पहाडी क्षेत्रमा पनि केही स्थानमा मध्यम वर्षा हुनसक्ने जनाइएको छ।

बागमती, गण्डकी र लुम्बिनीका तराई क्षेत्रमा केही स्थान तथा मधेश, कोशी र सुदूरपश्चिमका तराई क्षेत्रमा थोरै स्थानमा वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्र, लुम्बिनीको पहाडी क्षेत्र र बागमती, गण्डकी तथा लुम्बिनीका तराईका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी तथा तराई क्षेत्रमा केही स्थानमा र कर्णाली तथा सुदूरपश्चिमका पहाडी क्षेत्रमा थोरै स्थानमा वर्षाको सम्भावना छ। कोशी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा राति भारी वर्षाको सम्भावना रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*