आज ऋषि पञ्चमी पर्व मनाइँदै

काठमाडौं । हिन्दु धर्मावलम्बी महिलाहरूले आज श्रद्धा र भक्तिपूर्वक ऋषि पञ्चमी पर्व मनाउँदैछन्। प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वमा सप्तऋषिको पूजा, व्रत तथा विभिन्न धार्मिक विधि पूरा गर्ने परम्परा रहेको छ।
ऋषि पञ्चमीका दिन महिलाहरू बिहानै उठेर नदी, धारा, कुण्ड तथा अन्य धार्मिकस्थलमा स्नान गरी शुद्ध हुने र सप्तऋषि तथा अरुन्धतीको पूजा गर्ने गर्छन्। पूजा आराधनाका क्रममा कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ ऋषिको स्मरण तथा पूजा गरिन्छ।
परम्पराअनुसार महिलाहरूले तीजका क्रममा भएका त्रुटि तथा दोषबाट मुक्ति र पारिवारिक सुख, शान्ति एवं समृद्धिको कामना गर्दै ऋषि पञ्चमीको व्रत बस्ने गर्छन्। यस दिन विशेषगरी महिलाहरूले दतिवनले दाँत माझ्ने, माटो तथा गोबरले शरीर शुद्ध गर्ने र विभिन्न विधिअनुसार स्नान गर्ने धार्मिक मान्यता पनि रहेको छ। ऋषि पञ्चमीलाई हरितालिका तीज पर्वको समापनका रूपमा समेत लिइन्छ।









