बेलायतका न्यायाधीशको टोलीद्वारा उच्च अदालत पाटनको अवलोकन

३० भाद्र २०८३, मंगलवार १०:१५

काठमाडौं । बेलायतको सर्वोच्च अदालतका न्यायाधीश लर्ड सर निकोलस ह्याम्बलेनको नेतृत्वमा आएको न्यायिक टोलीले उच्च अदालत पाटनको भ्रमण गरेको छ। भदौ २२ गते भएको भ्रमणका क्रममा टोलीले अदालतका न्यायाधीश तथा कर्मचारीसँग अन्तरक्रिया गरेको हो।

भ्रमण टोलीमा ट्रिब्युनल्सका वरिष्ठ अध्यक्ष लर्ड जस्टिस डिङ्गेमन्स तथा फ्रान्सिस टेलर बिल्डिङका प्रमुख ब्यारेस्टर मार्क हिल केसी सहभागी थिए। टोलीलाई उच्च अदालत पाटनका इजलासमा हुने सुनुवाइ तथा विभिन्न शाखा र फाँटबाट सम्पादन हुने कामकारबाहीबारे जानकारी गराउँदै अवलोकन गराइएको थियो।

कार्यक्रममा उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवर, अन्य न्यायाधीश तथा रजिस्ट्रारसहितका कर्मचारीको उपस्थिति थियो। शाखा अधिकृत संगीता सुवेदीले सञ्चालन गरेको कार्यक्रममा रजिस्ट्रार डा. अशोक कुमार क्षेत्रीले अदालतको वार्षिक कार्ययोजना र हालसम्मको प्रगति समेटिएको तथ्याङ्कीय विवरण प्रस्तुत गरेका थिए। साथै अदालतको परिचय समेटिएको शब्ददृश्य सामग्रीसमेत प्रस्तुत गरिएको थियो।

अन्तरक्रियाका क्रममा लर्ड सर निकोलस ह्याम्बलेनले बेलायतको न्यायिक प्रणाली, अदालतमा हुने न्यायिक प्रक्रिया तथा मुद्दा व्यवस्थापनमा अपनाइएका रणनीतिबारे जानकारी दिए। उनले मिडिया अदालत, मुद्दा व्यवस्थापनमा सूचना प्रविधिको प्रयोग र बक्यौता मुद्दा शीघ्र फछ्र्योट गर्ने रणनीतिबारे बेलायतको अनुभव साझा गरेका थिए।

उनले नेपाल र बेलायतका अदालतबीच आवश्यकताअनुसार न्यायिक प्रणाली तथा कार्यप्रक्रियासम्बन्धी अनुभव आदानप्रदान गर्न आफू इच्छुक रहेको बताए। उच्च अदालत पाटनको भ्रमण गरी यहाँका न्यायिक गतिविधिबारे जानकारी लिन पाउँदा खुसी लागेको उनले बताएका थिए।

कार्यक्रममा मुख्य न्यायाधीश कुँवरले बेलायती न्यायिक अभ्यासका नवीनतम पक्षबारे बुझ्न भ्रमण फलदायी भएको बताए। आगामी दिनमा समेत यस्ता भ्रमण र अन्तरक्रियाले दुई देशका न्यायिक क्षेत्रबीच विचार तथा अनुभव आदानप्रदानमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे। कार्यक्रमको अन्त्यमा मुख्य न्यायाधीश कुँवरले बेलायती न्यायाधीशसहित भ्रमण टोलीलाई मायाको चिनो प्रदान गरेका थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*