किस्पाङ अध्यक्ष तामाङविरुद्ध ९ करोडको बिगो, बैंकिङ कसुर र ठगीका १० मुद्दा

३० भाद्र २०८३, मंगलवार १३:३४

काठमाडौं । बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार सिंहदरबारमा गरेको छलफलमा सहभागी भएका नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन्। उनीविरुद्ध बैंकिङ कसुर र ठगीसम्बन्धी १० वटा मुद्दामा अनुसन्धान भइरहेको खुलेको छ।

अरुण अर्यालको जाहेरीका आधारमा तामाङविरुद्ध बैंकिङ कसुरसम्बन्धी मुद्दा दर्ता भएको थियो। सोही मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पक्राउ गर्न अनुमति लिएपछि प्रहरीले उनलाई सिंहदरबारबाटै पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार तामाङको सीआरएस अभिलेख जाँच गर्दा उनीविरुद्ध बैंकिङ कसुर र ठगीसम्बन्धी १० वटा मुद्दा रहेको खुलेको हो। प्रहरीले ती सबै मुद्दामा अनुसन्धान अघि बढाउने जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाका अनुसार तामाङमाथि रहेका सबै मुद्दालाई समेटेर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

प्रहरीका अनुसार उनीविरुद्ध दर्ता भएका मुद्दामा कुल ९ करोड ८ लाख ३५ हजार रुपैयाँ बिगो कायम गरिएको छ। पक्राउ परेका तामाङमाथि बैंकिङ कसुर तथा ठगीसम्बन्धी सबै मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*