भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या एक हजार ३९५ नाघ्यो

३० भाद्र २०८३, मंगलवार १३:४८

काठमाडौं । भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९५ जनाको शव फेला परेको छ भने पाँच हजार १३० जना अझै सम्पर्कविहीन छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार सार्वजनिक गरेको विवरणअनुसार फेलापरेका शवमध्ये चितवनमा ३६४, नवलपरासी पूर्वमा २३२, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा २०२, रसुवामा १८६, गोरखामा ७७, धादिङमा ७२ र तनहुँमा ३८ छन् । उपचारका क्रममा काठमाडौंमा दुई जनाको मृत्यु भएको थियो ।

हालसम्म फेलापरेका शवमध्ये १०४ को सनाखत भइसकेको छ । बाँकी शवको पहिचानका लागि डिएनए परीक्षणलगायत प्रक्रिया अघि बढाइएको नेपाल प्रहरीले जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार बाढीपछि हालसम्म १३ हजार ७३७ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये विभिन्न ३३ वटा होल्डिङ सेन्टरमा राखिएका नागरिकमध्ये नुवाकोटमा एक हजार ४९९, रसुवामा ८२५ र धादिङमा ९४ जना रहेका छन् ।

त्यस्तै विभिन्न १९ अस्पतालमा ३४१ जनाको उपचार गरिएकामा २७८ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् । विभिन्न सुरक्षा निकायमार्फत थप नौ हजार ३५८ जनाले स्वास्थ्य उपचार सेवा लिएका छन् ।

प्रभावित क्षेत्रमा स्वास्थ्य मन्त्रालयमार्फत १५० जना परामर्शदाता परिचालन गरिएको छ । नेपाल प्रहरीले सञ्चालन गरेका १६६ वटा सामुदायिक जनचेतना कार्यक्रममार्फत ४५ हजार २३८ जनालाई परामर्श प्रदान गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*